Shittalpati
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा

काठमाडौँ, चालु आर्थिक वर्षमा थप तीन लाख दुई हजार ७८ जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनबाट आधारभूत तथा सुरक्षित खानेपानीको पहुँचमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । 

विसं २०८० फागुनसम्म आधारभूत खानेपानीको पहुँच ९६ दशमलव ७५ प्रतिशत जनसङ्ख्यामा पुगेको सर्वेक्षणमा बताइएको छ । सर्वेक्षणअनुसार विभिन्न जिल्लामा सञ्चालनमा रहेका सहलगानी खानेपानी आयोजना, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना, सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना र केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । चालु आवमा खानेपानी संस्थानअन्तर्गत हालसम्म एक लाख ४९ हजार तीन सय ८६ धारा जडान भएका छन् । 
    
“खानेपानी संस्थानअन्तर्गत हालसम्म एक लाख ४९ हजार तीन सय ८६ धारा जडान भएक छन् । ११ दशमलव ७५ मेलम्चीको पानी वितरणका लागि पहिलो चरणमा बिछ्याइएका एक हजार १० किलोमिटर पाइपमध्ये चार सय ८७ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भई उपत्यकाका विभिन्न स्थानमा नयाँ पाइपलाइनबाट नियमितरूपमा पानी वितरण कार्य सुरु भएको,” सर्वेक्षणमा उल्लेख गरिएको छ, “हालसम्म काठमाडौँ उपत्यकाभित्र ३४ हजार धारा जडान कार्य सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि सात सय ९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८० फागुनसम्म ६ सय ७० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ ।”

चालु आर्थिक वर्षको प्रथम आठ महिनामा कीर्तिपुर ९६ हजार घनमिटर० र महाङ्कालचौर ९आठ हजार घनमिटर० को पानीपोखरी निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिसम्म करिब आठ लाख १८ हजार घरधुरीको निजी धाराको नक्साङ्कन सम्पन्न भएको छ । 

गत फागुनसम्म काठमाडौँ उपत्यकाभित्र रहेका करिब २० पुराना ढुङ्गेधारा, सार्वजनिक इनार, कुवालगायत सामूहिक पानीका स्रोतको संरक्षण कार्य सम्पन्न भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । हालसम्म काठमाडौँ उपत्यकाभित्रका एक सय ९५ ढुङ्गेधारा तथा पोखरीको संरक्षण गरिएको छ । तीन करोड २४ लाख लिटर प्रतिदिन क्षमता भएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update