Shittalpati
गणतन्त्र दिवस र यसको सार्थकता

संघीय लोकतान्त्रिक गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो हरेक वर्षको जेठ १५ अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन । आज हामीले १७ औँँ गणतन्त्र दिवस मनाउँदै गर्दा विसं २००७ सालदेखिका संघर्षहरुको पुनःस्मरण गर्नुपर्ने हुन्छ । २०६२/६३ को जनआन्दोलनपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको यस दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । तर, १५ जेठको यो चरणमा नेपाली राजनीति आइपुग्नुमा ००७ सालपछि पटक–पटक भएका राजनीतिक संघर्षहरूको देन पनि उत्तिकै छ ।

राजाबाट खोसेर जनता आफैँले निर्माण शुरु गरेको नयाँ नेपालको खाकामा क्रमशः रङ भरिंदै गएको छ । यद्यपि, जनताका अपेक्षा सबै पूरा हुनससकेका छैनन् । त्यसलाई क्रमशः पूरा गर्ने दायित्वसमेत राजनीति दलकै काँधमा छ । आर्थिक समृद्धिसहितको विकासले मात्रै जनताले बगाएको रगतपसिनाले सार्थकता पाउनेछ । तर अहिलेसम्म त्यसो हुन सकिरहेको छैन । जनआन्दोलनमा व्यक्त जनताको त्याग र बलिदानले स्थापित गरेको उपलब्धि सैद्धान्तिक रूपमा कार्यान्वयन भए पनि राजनीतिक दलले त्यसलाई व्यावहारिक रुप दिन अझै सकेका छैनन् । यो अत्यन्त दुखको कुरा हो । जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन नसक्नु दलहरुकै कमजोरी हो । गणतन्त्र दिवस मनाउनु राम्रो कुरा हो । तर, गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्ने कुरा चानचुने छैन । गणतन्त्र दिवस मनाउँदैमा गणतान्त्रिक मन र मस्तिष्क हुँदैन, गणतान्त्रिक आदर्श हुन सक्दैन । आचरण र व्यवहार गणतान्त्रिक हुनुपर्छ । यसो भयो भने मात्र हरेक वर्ष गणतन्त्र मनाउनुले सार्थकता प्राप्त गर्दछ ।  

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update