Shittalpati
रामपुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले नागरिकहरुको सेवालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा शिविर गरेको हो ।

नगरपालिकाले कार्यालयबाट प्रदान गरिने सेवाहरु घुम्ती शिविरमार्फत वडामै पुगेर दिएको छ । शिविरमार्फत योजना फरफारक र भुक्तानी, आँख, कान दाँत सम्बन्धी स्वास्थ्य परीक्षण, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशुपंछि सम्बन्धी परामर्श र औषधी वितरण, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण लगाएतका सेवा प्रदान गरिएको छ ।

पालिका भन्दा टाढा रहेका वडाका नागरिकहरुलाई सेवा प्रवाहमा सहज होस् भन्ने उद्देश्यले गाउँ गाउँमा पुगेर शिविरमार्फत सेवा प्रदान गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताए । ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नारालाई सार्थक बनाउन विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको छ ।’ नगरपालिकाको सेवालाई अझ सेवाग्राहीमूखी र नागरिकमैत्री बनाउनका लागि शिविरको महत्वपूर्ण भूमिका रहने बताउँदै नगर प्रमुख थापाले नागरवासीको सहजताका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको उल्लेख गरे । उपप्रमुख बालकुमारी थापाले पालिकाको सेवा लिन गाउँबाट आउँदा दिनभरी नै लाग्ने, समय र खर्चिलो हुने कुरालाई नगरपालिकाले ध्यान दिएको बताइन् । नगरवासीको आवश्यकता र आफुलाई पायक पर्ने एकै स्थानबाट सबै सेवा प्रदान गर्न शिविर आयोजना गरिएको उनको भनाई छ ।

नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले नागरिकको आवश्यकतालाई ध्यानमा राखेर सबै सेवा प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिए । शिविरले स्थानीय सरकार भएको पूर्ण अनुभूत गराएको उनको भनाई छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले कार्यालयबाट प्रदान गरिने सबै सेवालाई प्रभावकारी र सबैको पहुँचसम्म पुर्‍याउनका लागि शिविर आयोजना गरिएको बताए । यस्तै वडा नं.९ का वडा अध्यक्ष डिलबहादुर रानाले कार्यालयसम्म पुग्न धेरै समय लाग्ने भएकाले वडावासीलाई वडाबाटै नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको उल्लेख गरे । शिविरमा योजना फरफारक ७ वटा, १ सय ५२ जनाले पशु सेवा ,व्यवसाय नविकरण तथा दर्ता ३ वटा, १ सय ७७ जनाले आँखा जाँच, ७१ जनाको दाँत परिक्षण र १ सय ८२ जनाले स्वास्थ्य परीक्षण गराएको योजना शाखा प्रमुख विक्रम बस्नेतले बताए । उनका अनुसार १ सय २३ जनाले कृषि सेवा, १ सय ५५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र र ७ जनाले अपा·ता परिचयपत्र लिएका छन् । शिविरमा आँखा परीक्षणको क्रममा ५४ जनालाई चस्मा वितरण गरिएको र ११ जनामा मोतियाविन्दु भएको भेटिएको छ । उनीहरुको यही जेठ २८ गते कालिगण्डकी आँखा उपचार केन्द्रमा अप्रेसन गरिने आँखा अस्पताल प्रमुख सुन्दर रानाले जानकारी दिए । शिविरबाट ३ सय ८८ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा कालिगण्डकी आँखा उपचार केन्द्र र रामपुर अस्पतालको प्राविधिक सहयोगमा आँखा र दाँत उपचार सेवा प्रदान गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update