महिनावारी भनेको महिलाको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाका शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनको कारणले हुने गर्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो । नेपाली समाजमा महिनावारीलाई ‘छुई हुनु’, ‘पर सर्नु’, ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु पनि भन्ने गरिन्छ । केही ठाउँहरुमा महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन विभेद समेत सहनुपरेको छ । संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य छन् । पूजापाठमा सहभागी हुने वा मन्दिर जाने त परै घरभित्रै पस्न पनि महिलालाई निषेध छ । आरामको जरुरी पर्ने यस्तो बेला घरबाहिरको काममा भने महिला लादिन विवश पारिन्छन् । यो अत्यन्त दुखको कुरा हो ।
उमेर बढ्दै जाँदा किशोरी अवस्थामा हरेक स्त्रीको रजस्वला हुनु प्राकृतिक कुरा हो । तर सामान्य प्राकृतिक कुरामा पनि यति ठूलो अन्धविश्वास छ कि त्यसैकारण छुवाछूत विभेद गरिन्छ । अनि महिला पानी ओसार्न टाढाटाढा जानुपर्ने, मेलापातमा भारी काम गर्नुपर्ने हुँदा झन् विभिन्न रोगको सिकार बन्छन् । अझ छाउगोठमा बस्दा चिसोले र सर्पले टोकेरै ज्यान गएका थुप्रै उदाहरण पनि छन् । महिनावारीमाथि अझै अन्धविश्वास राख्नु हाम्रो समाज अविकसित हुनुको एउटा द्योतक हो । महिनावारी हुँदा विभेद गर्ने वा सामाजिक बहिष्कार गर्नेमाथि कानुनी प्रबन्ध हुँदाहुँदै अझै पनि अन्धविश्वास नहट्नु भनेको कानुनी कारबाही फितलो हुनु त हुँदै हो, सबैभन्दा ठूलो कुरा चाहिँ चेतनाको उज्यालोले नछुनु हो । यसर्थ महिनावरीको अवस्थालाई स्वभाविक प्रक्रियाको रुपमा लिएर महिलाहरु सम्मानजनक रुपमा समाजमा बाच्न पाउने अधिकार सुनिश्चित गर्ने विषयमा तीनै तहका सरकार र नेपाली समाजले सोच्न जरुरी छ ।