Shittalpati
महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम दिदै पाल्पा जेसिज

पाल्पा, पाल्पा जेसिजले महिलाहरुलाई नेतृत्व तथा क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । जेसिजले तानसेन नगरपालिका –५ को आर्थिक सहयोगमा तानसेनमा दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सञ्चालन गरेको हो ।

तालिमको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बुधबार एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले महिलाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि तालिमले महोत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने ‘अझै पनि केही महिलाहरु खुलेर बाहिर आउन सकेका छैनन्, उनीहरु घरमै चुलोचौकोमा मात्र सिमित बनेका छन्, त्यस्ता महिलाहरुका लागि तालिम महत्वपूर्ण हुने छ ।’ नगर प्रमुख श्रेष्ठले नेपालको संविधानले समेत महिलाहरूलाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेकाले संवैधानिक व्यवस्था अनुरूप हरेक महिलाहरू नेतृत्वमा आउनुपर्ने बताए । युवाहरुको नेतृत्व विकासमा सक्रियताका साथ काम गर्दै आएको जेसिजले महिलाहरुको नेतृत्व विकासमा समेत काम गरेकोमा उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा तानसेन –१ का वडा अध्यक्ष तथा पाल्पा जेसिजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्यालले आफु जेसिजमै रहेर काम गरेकाले अहिले वडाको नेतृत्व गर्न सफल भएको बताए । उनले भने ‘जेसिजले युवाहरूको नेतृत्व र क्षमताको विकास गर्ने काम गर्दै आएको छ । यसले समाज र राष्ट्रमा नेतृत्व विकास गर्न ठूलो सहयोग पुुग्दछ ।’ महिलाहरूको क्षमता वृद्धि गरि सक्षम नेतृत्व बनाउनका लागि पनि तालिमले कोसे ढुंगा सावित हुने उनले बताए । अध्यक्ष बस्यालले तालिममा धैर्यतापूर्व ज्ञान हासिल गर्न आग्रह गरे । जेसिजका अध्यक्ष अर्जुन कार्कीले महिलाहरुको क्षमता विकास तथा कुशल उद्घोषक र नेतृत्व उत्पादन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताए ।

कार्यक्रममा तानसेन –२ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ, ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, ४ का वडा अध्यक्ष हेमन्तराज शाक्य, ६ का वडा अध्यक्ष सागरमान महर्जन, ७ का वडा अध्यक्ष प्रदिप खनाल लगायतको उपस्थिति रहेको थियो । तालिममा प्रमुख प्रशिक्षक जेसिज वर्ष २०२३ की केन्द्रीय कार्यकारी उपाध्यक्ष जेसी रजनी थापा र सहायक प्रशिक्षक जेसिज पाल्पा वर्ष २०२४ की उपाध्यक्ष जेसी कला दाहालले प्रशिक्षण दिइरहेका छन् । जेसिज पाल्पाका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, तानसेन–५ का कार्यवाहक वडा अध्यक्ष मानबहादुर कार्कीको स्वागत, जेसिज पाल्पा बर्ष २०२४ का महासचिव बिजय कार्कीको सञ्चालनमा तालिम उद्घाटन कार्यक्रम भएको हो । तालिम विहीबार सकिनेछ । तालिममा वडाका ४० जना महिलाहरूको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update