Shittalpati
काँग्रेस नेताहरुको पहलमा इस्मा आगलागी पीडितलाई सहयोग

गुुल्मी, काँग्रेस नेताहरुको पहलमा गुल्मी इस्माका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र काँग्रेस गुल्मीकी नेतृ सुनिता जिसी कुुंवरको विशेष पहलमा आगलागी पीडितका लागि आर्थिक सहयोग गरिएको हो ।

 काँग्रेस नेता श्रेष्ठ र जिसीको पहलमा नेपाली जनसम्पर्क समिति मध्यप्रदेशमा बसोवास गर्दै आएका नेपालीहरुबाट संकलित रकम आगलागी पीडितका लागि दिइएको छ ।  

मध्यप्रदेशमा बसोवास गर्ने नेपाली काँग्रेसका महासमिति सदस्य पाल्पा निवासी डोलराज गैरेले ५१ हजार, पशुपतिनाथ नेपाली समाज गोविन्दापुरा भुपालमा रहेका नेपालीहरुबाट सकलन गरी समाजका अध्यक्ष विष्णुप्रसाद शर्माले पठाएको ५३ हजार ३ सय ७५ गरी एक लाख चार हजार तीन सय पचहत्तर रुपैयाँ सहयोग प्राप्त भएको हो । उक्त प्राप्त रकम काँग्रेस पाल्पाका सभापति श्रेष्ठ, नेतृ जिसीले इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्कालाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै काँग्रेस सभापति श्रेष्ठले नेपाली जनसम्पर्क समिति मध्यप्रदेशमा रहेका गुल्मेली, पाल्पाली, अर्घाँखाचीवासीहरुले आफ्नो गाँसबाट काटेर थोरै भए पनि आगालागी पिडितलाई राहत होस् भन्ने उद्देश्यले रकम संकलन गरेर पठाएको बताए । उनले भने‘ म भूूपाल जाँदा त्यहाँका साथीहरुसँग बसेर सम्बन्ध बनाएको थिए, जब गुुल्मी र पाल्पामा आगालागीबाट धेरै नागरिक प्रभावित भए, त्यसका लागि केही भए पनि राहत जुटाउनुुपर्छ भन्ने लागेर समाजका पदाधिकारीहरुसँग आग्रह गरे बमोजिम सहयोग प्राप्त भएको हो ।’ सभापति श्रेष्ठले काँग्रेस दुःखको साथी भएकाले पनि नागरिक दुःखमा पर्दा  सहयोग गर्नु पर्छ भन्ने लागेर संकलित रकम लिएर आएको बताए ।

नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, सचिव जगदीश भट्टराईले आगालागी प्रभावित नागरिकहरुका लागि सहयोग गर्ने र जुटाउन पहल सबैलाई धन्यवाद व्यक्त गरे । रकम  ग्रहण गर्दै इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले आगालागी पीडितहरुका लागि मध्यप्रदेशमा बसोवास गर्ने नेपालीहरु र पहल गर्ने नेपाली काँग्रेसका नेताहरुले देखाएको सयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै आभार व्यक्त गरे । बैशाख ८ गते  हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् भने दर्जनौं पशुचौपायले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update