Shittalpati
पत्रकार महासंघ पाल्पाको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति 

पाल्पा, नेपाल प्रेस युनियन पाल्पाले नेपाल पत्रकार महासंघ पाल्पाको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघले  सदस्यता शुद्धीकरण अभियान अन्तर्गत आफ्नो अनुकूल र स्वः मापदण्ड बनाएर केन्द्रीय समितिलाई पुरानै सिफारिसलाई सदर गर्न आग्रह गरेको निर्णप्रति युनियनले आपत्ति जनाएको हो । 

युनियनले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघ पाल्पा शाखाको २०८० असार ५ गते बसेको बैंठकले महासंघको केन्द्रीय समितिले निर्धारण गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरित आफु खुसी मापदण्ड बनाई  सदस्यता शुद्धीकरणको लागि गरेको सिफारिसलाई पुनः सदर गर्न महासंघ केन्द्रसँग माग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघले गत असारमा आफ्नो अनुकूल र स्वः मापदण्ड बनाएर ७१ जनाको नाम सिफारिस गरेको थियो । पटक –पटक केन्द्रले सदस्यता शुद्धिकरणको सूची सार्वजनिक गर्दै आएको भए पनि महासंघले तिनै ७१ जनाको नाम नै सिफारिस गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ । युनियनका धेरै पत्रकारहरुलाई हटाएर मापदण्ड नै नपुगेका अन्य संगठनका पत्रकारहरु सिफारिसमा परेको भन्दै युनियनले आपत्ति जनाउँदै आएको छ ।  

‘अघिल्लो सिफारिस अनुसार नै ७१ जना सदस्यहरुको नविकरणलाई सदर गर्न २०८१ जेठ १५ गते महासंघलाई आग्रह गरेको विषयप्रति नेपाल प्रेस युनियन पाल्पा शाखाको पुनः गम्भीर ध्यानाकर्षण भएको छ ’ युनियन अध्यक्ष मन गहिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासंघको निर्णयले जिल्लामा क्रियाशिल रही महासंघको संस्थागत विकासमा योगदान पुर्‍याएका कतिपय पत्रकारहरुलाई अन्याय हुने र पत्रकारिता क्षेत्रमा क्रियाशिल नरहेका व्यक्ति सदस्य रहन सक्ने युनियनको ठहर रहेको विज्ञप्तीमा उल्लेख छ । अहिलेको अवस्थामा महासंघ पाल्पा शाखाले ७१ जनाको सदर गर्न गरेको आग्रहप्रति युनियनको घोर आपत्ति रहेको भन्दै माग तत्काल फिर्ता नलिएमा युनियनले त्यसको विरुद्ध संघर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएको छ । 


                                                           
                                                        
          
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update