पाल्पा, जिल्लाको तानसेन नगरपालिका –५ छापथोकका घर–घरमा खानेपानी पुगेको छ । तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा सिस्नेमुलको पानी घर–घरमा पुगेको हो ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले धारा खोलेर खानेपानीको उद्घाटन गरेका हुन् । खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले घर–घरमा पानी झर्न थालेपछि छापथोकका नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उपप्रमुख प्रतिक्षा सिंजाली, कार्यबाहक वडा अध्यक्ष मान बहादुर कार्की, खानेपानी डिभिजन कार्यालयका प्रमुख आविद हुषेन,समाजसेवी शलिकराम रावल, दिनेश रावल, तुल बहादुर रावल लगायतले घर–घरमा खानेपानी ल्याउने लक्ष्य पहिलेदेखि नै राखिएको भए पनि एक दुई जना व्यक्तिको अवरोधले रोकिदै आएकोमा अहिले सफल भएको बताए ।
तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले छापथोकबासीले जस्तै सेतिपोखरी, धरमपानी र शिवपोखरीका स्थानीयको समेत तिर्खा मेटाउने बताए । उनले आगामी दिनमा खानेपानीको शुल्क समायोजन गरिने समेत बताए । स्वच्छ खानेपानीको अभावमा काकाकुल जस्तै बनेका यहाँका स्थानीयले अहिले घरमा पानी पुगेपछि राहतको महशुस गरेका छन् । हरेक निर्वाचनमा कालिगण्डकीको पानी घर–घरमा वितरण गर्ने आश्वासन हरेक राजनीतिक दल र तीनका उम्मेदवारले दिने गरे पनि त्यो अहिलेसम्म हुन सकेको थिएन । अहिले तानसेन नगरपालिकामा आएको सन्तोषलाल श्रेष्ठको नेतृत्वमा आएको जनप्रतिनिधि र खानेपानी उपभोक्ता समितिमा मोहन प्रसाद श्रेष्ठको नेतृत्वमा आएको सक्रिय टिमले उक्त सपना विपनामा परिणत गराएका हुन् । यहाँको छापथोक सहित माथिल्लो धरमपानी, सेतिपोेखरी र शिवपोखरीका स्थानीयले निःशुल्क एक हप्ता बढी श्रमदान समेत गरेका थिए । पानी आएसँगै यहाँका ४० घरधुरीलाई निकै सजिलो भएको स्थानीय विष्णु बहादुर बोहोराले बताए ।