Shittalpati
तानसेनमा खानेपानीको समस्या हट्यो  

पाल्पा, तानसेनमा खानेपानी सहज बन्दै गएको छ । तानसेन खानेपानी उपभोक्ता समितिमा नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो ।

तदर्थ समिति हुँदादेखि नै खानेपानी समस्या समाधानमा जुटेको समितिले निर्वाचित भएर आएको ६ महिनामै तानसेनको खानेपानी समस्यालाई सहज बनाएको छ । सातदिनदेखि दश/पन्ध्र दिनमा आउने खानेपानी अहिले एक /दुई दिन विराएर आउन थालेको छ । समितिले खानेपानीका मुहान व्यवस्थितगर्ने, टुफुट भएका पाइपहरु मर्मत सम्भार गर्ने, विद्युत आपूर्तिका कारण देखिएको समस्या समाधान गर्ने, कर्मचारीहरुलाई वितरणमा सचेत गराउने जस्ता कामहरु गर्दै आएकाले खानेपानी समस्या समाधानमा सहज भएको बताइएको छ । वितरण प्रणाली नै व्यवस्थित नहुँदा तानसेनवासीले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका थिए । यस पटक अव्यवस्थित वितरण प्रणालीलाई व्यवस्थित गरेपछि खानेपानीको समस्या हटेको समितिले जनाएको छ । नवनिर्वाचित कार्य समितिले  बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी ६ महिनाको अवधिमा गरेका गतिविधी सार्वजनिक गर्दै तानसेनमा खानेपानीको समस्या पूर्ण रुपमा हटेको बताएको छ । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले  अहिले उपभोक्ताको धारामा एक दिन विराएर पानी वितरण हुँदै  आएको जानकारी दिए ।  उनले भने ‘विगतका दिनमा पानी नआएर तानसेनवासी हैरान थिए, तर अहिले धेरै पानी आयो भनेर धारा बन्द गर्ने अवस्थामा पुगका छन् ।’ 

तानसेनका उपभोक्तालाई हाल दैनिक २६ लाख लिटर पानीको आवश्यकता भएकोमा हाल दैनिक  १९ लाख लिटर पानी तानसेनमा वितरण भएको समितिले जनाएको छ । पूूर्ण क्षमतामा मोटर पम्प सञ्चालन गर्ने हो भने दैनिक रुपमा पानी वितरण गर्न सकिने अवस्था रहेको पनि मोटर पम्पलाई टिकाउनको लागि  रातीमा मोटरपम्प गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।  अहिले तानसेनमा कालगण्डकी, भुल्के, सिस्ने, तिनधारा, होलाङ्दी र बाझा मुलबाट पानी संकलन गरी तानसेनमा  वितरण हुदैँ आएको छ । खानेपानीलाई व्यस्थित र नियमित गर्न सबै स्थानको पम्प स्टेशनमा जगेडा मोटरको व्यबस्था मिलाइएको, विद्युुत लाईनलाई व्यस्थित गरेको, विभिन्न स्थानहरुका वितरण लाईनहरु मिलाएको  समितिले जनाएको छ । संकलित ट्याकीहरुमा बढी भएको पानी मिसन अस्पताल, तानसेन नर्सिङ्ग स्कूूल, ठूूला–ठूूला होटलहरुमा वितरण गर्दै आएको समितिले जनाएको छ । अहिले उपभोक्ताले माग गरेको दुई दिन भित्र नयाँ धारा जडान हुने, घर निर्माणको लागि नक्सा पासको आधारमा नयाँ धारा जडान गर्ने काम नियमित रुपमा भईरहेको समितिले जनाएको छ । पुसदेखी बैशाखसम्मको ५ महिनामा १ करोड ८५ लाख ९५ हजार, ९ सय १५ रुपैयाँ आम्दानी भएको र विद्युत महशुल, नयाँ मोटर खरिद, कर्मचारी तलव लगायत विविधमा १ करोड ५९ लाख ७० हजार ५ सय २० रुपैयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । विभिन्न बैकहरुमा ५ करोड ८९ लाख ७२ हजार ८ सय ५९ रुपैयाँ नगद मौज्दात रहेको समितिले सार्वजनिक गरेको छ । 

यही बैशाख मसान्त सम्म ४ हजार ४ सय ३० वटा धारा वितरण भएकामा ४ हजार १ सय ६६ वटा निजी, २ सय ४४ वटा संघ संस्था र १७ वटा सामुदायिक धारा रहेको बताइएको छ । अब छिट्टै विभिन्न सार्वजनिक स्थलहरुमा टंकी निर्माण गरी सार्वजनिक धारा सञ्चालनमा ल्याउने समेत समितिले जनाएको छ । समितिले सबैको जिम्मेवारी बाडफाँड गरी कामलाई चुस्त दुस्त बनाउने काम समेत गरेको छ । समितिले उपाध्यक्ष लालमने अदै पुनलाई स्टोर व्यबस्थापन, नियन्त्रण, मुल आपुर्ति व्यबस्थापन, सचिव प्रेमबहादुर मल्ललाई सचिवालय व्यवस्थापन, कोषाध्यक्ष शुसिला कर्माचार्यलाई लेखा व्यवस्थापन, सहसचिव विर्जु खातीेलाई गुनासो व्यबस्थापन, सदस्य महेन्द्रबहादुर खातीलाई वितरण प्रणाली र लाईन व्यबस्थापन, बसन्तराज गहतराजलाई नयाँ मुल श्रोत पहिचान र रेणुका बस्याललाई अनुगमन तथा मुल्याङकनको जिम्मेवारी दिइएको अध्यक्ष श्रेष्ठले बताए ।  

खानेपानीलाई नियमित र व्यस्थित रुपमा वितरणको लागि  विभिन्न स्थानमा ३०/३० लाख लिटरका ठूला –ठूूला टंकी निर्माण गर्ने, जिर्ण भएका मुख्य पाईपलाईनहरु हटाउदै नयाँ पाईपलाईन राख्दै बस्ती बसेका नयाँ–नयाँ स्थानमा  खानेपानी विस्तार गर्दै जाने, वडा–वडामा उपभोक्ता समिति गठन गर्ने, बैज्ञानिक ढंगले पानी वितरण गर्ने, श्रावण महिनादेखी मूूल्य संमायोजन गरेर नयाँ मूूल्य निर्धारण गरिने समितिले जनाएको छ ।  विभिन्न व्यक्ति तथा कार्यालयहरुमा पुरानो बाँकी रकम अषाढ मसान्तसम्म भुक्तानी नगरेमा खानेपानीको धारा काटिदिने समितिले निर्णय गरेको जनाएको छ । 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले उपभोक्तामैत्री भएर समितिले काम गर्नु पर्ने, प्रत्येक व्यक्तिलाई दैनिक ५० लिटर पानी निःशुल्क प्रदान गर्नु पर्ने, तानसेनको पर्यटन व्यबसाय फष्टाउने गरी पानीको व्यबस्थापन गर्नु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा पत्रकारहरु माधव अर्याल, प्रकाश नेपाल, देव पचभैया, कृष्ण कार्की, मुक्ति न्यौपाने, विन्दु थापा लगायतले राती रातीमा पानी वितरण गर्दा उपभोक्तामा समस्या भएको, पानीको महशुलमा स्वचालित मूल्य कायम राख्नु पर्ने, पानीको महशुल नतिरेका व्यक्ति संघ संस्थाहरुको नामावली सार्वजनिक गर्नुपर्ने, ल्याव टेष्ट गरेर मात्र नयाँ मुलहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र सचिव प्रेमबहादुर मल्लको सञ्चालनमा भएको थियो । 
                                                         
                                                        
          

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update