Shittalpati
युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेला

विराटनगर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरिएको बताएका छन् । विराटनगरमा आयोजित श्रमाधान रोजगार मेला सफलताको शुभकामना दिँदै उहाँले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको दूरी हटाउन मेला फलदायी हुने बताए । 

मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदान प्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको मन्त्री अर्यालले जानकारी दिए । तीनै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने बताए । यस्तो मेला सातवटै प्रदेशमा आयोजना गरिने उनले जानकारी दिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजी कमजोर भएकाले रोजगार सिर्जना कम भएको बताए ।

उनले भने, “पुँजी कमजोर भएका कारण उद्योग फस्टाउन सकेनन साथै रोजगार पनि सिर्जना हुन सकेन ।”बैंकको चर्को ब्याज र कोभिड–१९ का कारण थला परेका उद्योगलाई फस्टाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री कार्कीले समाजवादको नारालाई पूरा गर्न राष्ट्रिय पुँजी बलियो बनाउनुपर्ने जोड दिए । उनले विराटनगरको जोगबनीदेखि चीन जोड्ने किमाथाङ्का बाटो निर्माण भए हजारौँ रोजगारी सिर्जना हुने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर भएको उल्लेख गर्दै रोजगारदाता र रोजगारी खोज्नेबीच दूरी घटाउन मेला आयोजना गरिएको बताए ।  

 नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी गर्ने वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय छन भने । राजस्व वृद्धिमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले स्वदेशी लगानीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उन को भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले पनि देशमा सबैभन्दा बढी रोजगार निजी क्षेत्रबाट नै उलब्ध भइरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रको मागप्रति गम्भीर बन्नुपर्ने धारणा राखे । निजी क्षेत्रले संयोजन गरेको उक्त मेला शुक्रबारसम्म चल्ने छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update