Shittalpati
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो

पाल्पा, पाल्पा जेसिसको आयोजना र तानसेन नगरपालिका–५ वडा कार्यालयको सहयोगमा  तानसेनमा सञ्चालित दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सकिएको छ । बुधबारदेखि सञ्चालन भएको तालिम विहीबार सकिएको हो । तालिमको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले एक औपचारिक कार्यक्रमका बिच समापन गरेकी हुन् । तालिमको समापन गर्दै गाहाले तालिम एउटा बाटो देखाउने माध्यम मात्र भएकाले काम आफै स्वयमले गर्नुपर्ने बताईन । महिलाको जनसंख्या ५२ प्रतिशत भए पनि नेतृत्व तथा सिप विकासमा महिला अझै पनि खरो रुपमा उत्रिन नसकेकाले यस्ता तालिमहरुमा नगरपालिकाले सहयोग गर्दै आएको उप प्रमुख गाहाको भनाइ छ ।

महिलाहरुको लागि प्रशस्त सिप र तालिमको लागि नगरपालिकाले निःशुल्क रुपमा व्यवस्था गरेकाले आवश्यकता अनुसारको तालिम लिइ सिप सिकेर दक्ष, आत्मनिर्भर बन्न उनले जोड दिईन । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले मागमा आधारित सिप तालिमको प्रस्ताव लिएर आउन, समयमै बजेट माग गर्न, योजना तर्जुमामा सहभागी हुन, वडा तथा पालिकामा प्रस्ताव पेश गर्न सबैलाई आग्रह गरे । उनले  कामका लागि सिप सिक्ने र उद्यमी बन्ने इच्छा शक्ति मन मस्तिष्कमा देखाउन महिलाको लागि बजेटको कमी नहुने विश्वास दिलाए ।

प्रमुख प्रशिक्षक रजनी थापाले हरेक महिला आत्मनिर्भर बन्नु पर्नेमा जोड दिईन । तालिम लिन, सिप सिक्न, उद्यमी बन्न आग्रह गर्दै उनले यसो गर्न सके दुई चार रुपैयाँ आफ्नै परिश्रमबाट कमाउन सकिने  बताईन । हरेक कुरामा प्रश्न गर्ने र सोध्ने बानी बसाल्न सके कसैले पनि दवाउन, हिंसा तथा घृणाको शिकार बन्न नपर्ने थापाको धारणा थियो । कार्यक्रममा ५ नंं वडा कार्यालयका कार्यवाहक अध्यक्ष मान बहादुर कार्की, कार्यपालिका सदस्य लक्ष्मी विक, पुजा रावलले तालिम निकै प्रभावकारी भएको बताए । तालिममा सहभागीहरु लक्ष्मी कुवँर, मन खाती र सिता कार्कीले तालिमले गरे जे पनि संभव हुँदो रहेछ भन्ने कुराको बाटो देखाएको र तालिम एउटा माध्यम मात्र भएको र गर्न आफै पर्दाे रहेछ भन्ने आत्मवल बढाएको बताए । पाल्पा जेसिसका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, महासचिव विजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिममा वडाका ४० जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update