तानसेन, जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थल श्रीनगरडाँडा तानसेनको ताज हो । यो पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । भौतिक पूर्वधार विकासको चरणमा अगाडि बढेको श्रीनगरडाँडा सबैको नजरमा पर्ने गरेको छ । श्रीनगर वनपार्क अवलोकन र भ्रमण तथा वनभोजका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तर यहाँको विकासमा बेला बेलामा विवाद हुने गरेको छ । पर्यटकीय सम्भावना बोकेको र आर्थिक स्रोतको बलियो आधार भएकाले यहाँको विकासमा तानातानको अवस्था सिर्जना हुँदा विवाद हुने गरेको हो ।
विशेषतः यहाँको स्थानीय सरकार र वन उपभोक्ता समितिबिच बेला बेलामा विकासका कार्यमा तानातानको अवस्था सिर्जना हुने गरेको छ । यहाँ हुने विकास निर्माणका कार्यमा दुवै पक्षले अपनत्व लिने होडमा विवाद उत्पन्न हुने गरेको हो । विवादका कारण विकासको गतिमा समस्या उत्पन्न हुने गरेको छ । यहाँको विकास निर्माणमा स्थानीय सरकारको चासो सदैव रहँदै आएको अवस्थामा विगत दुई बर्ष वन उपभोक्ता समिति र नगरसरकार बिचको टसलका कारण विवाद उत्पन्न हुने गरेको स्थानीयको भनाई छ । तानसेन नगरपालिकाले श्रीनगरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी अपाङ्कमैत्री शौचालय निर्माण कार्य अगाडि बढाएको थियो । तर केही दिन अघि मात्र उक्त निर्माण कार्य हुँदै गरेको अवस्थामा इलाका वन कार्यालयले सो काममा रोक लगाएको छ । नगर सरकार र वन उपभोक्ता समिति बिचको विवादका कारण यहाँ निर्माण हुन लागेको शौचालय निर्माणको कामलाई वन उपभोक्ता समितिका व्यक्ति लगाएर भत्काइदिएको छ ।
उपभोक्ता समितिसँगको विवादका कारण बाध्य भएर इलाका वन कार्यालयले रोक्नुपर्ने अवस्था सिर्जना भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । वन कार्यालय पाल्पाका अधिकारी भन्छन्, ‘निवेदन नआएसम्म हामीले पनि व्यवहारिकता हेरीरहेका थियौं, माथिल्लो निकायबाट रोक्न निर्देशन आएपछि हामीहरु निर्माण कार्य रोक्न बाध्य भएका हौं । वन उपभोक्ता समिति बिचको विवाद चुलिदा चुलिदै यो विवाद वन मन्त्रालयसम्म पुगेका कारण निर्माण कार्यमा समस्या आएको तानसेन नगरपालिकाको भनाई छ । उता वन विज्ञहरुले भने स्थानीय सरकारले भोगाधिकार लिएर मात्र पर्यटन प्रर्वद्धनका काम गर्दा राम्रो हुने बताएका छन् । गत साता तानसेन नगरपालिकाले श्रीनगर घुम्न आउने पर्यटकहरुलाई लक्षित गरेर शौचालय निर्माणको काम गरिरहेको बेला वन कार्यालय र उपभोक्ता समितिका पदाधिकारीहरुले निर्माण कार्य रोकेपछि अहिले तानसेनमा सर्वत्र बहसको विषय बनेको छ । नगरपालिकाले अब विकास निर्माणको काम अगाडि बढाउने किन नबढाउने भन्ने विषयमा अलमलमा परेको छ ।
नगरपालिकाले श्रीनगर क्षेत्रमा रहेका उपभोक्ता समितिहरूलाई प्रक्रिया नपुगेको भन्दै उठाउँदै आएको राजस्व संकलनमा यस अघि रोक लगाएपछि विवाद सिर्जना हुँदै आएको हो । नगरपालिकाले विगत नौ महिनादेखी आफै कर्मचारी खटाएर दोब्बर राजस्व संकलन गर्दै आएको छ । विवादले तानसेनको विकास कार्य अवरूद्ध हुँदा यहाँका सरोकारवालाहरू भने गुमनाम बनेका छन् ।