बुटवल, बुटवल उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी सम्हालेका खेलराज पाण्डेयले एक पछि अर्को गरी प्रशसंनिय कार्य गर्दै आएका छन् । स्थानीय तहमा निर्वाचित भएर आएसँगै पाण्डेयले नयाँ र जनउपयोगी कामहरुको थालनी गरेका हुन् ।
उनैको नेतृत्वमा उपमहानगरपालिकाले अहिले बुटवलमा आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालनमा ल्याएको छ । मासुु पसलहरु अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको र आधुुनिक बधशाला समेत नरहेको अवस्थामा मयेर पाण्डेयले यस्तो कार्यको सुुरुवात गरेका हुन् । बुटवल र आसपासका जिल्लाहरुमा समेत सेवा दिन सक्ने गरी बधशाला निर्माण भएको मेयर पाण्डेले बताए । पशु बधशालामा दैनिक १ हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेकाले अन्य जिल्लाहरुलाई सहज रुपमा सेवा दिन सकिने उनको भनाई छ ।
बुटवल उपमहानगरपालिका–१० धागो कारखाना नजिकै दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षणपछि बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बधशालासँगै सुख्खानगर र होराइजन चोकका दुई स्थानमा मासु बिक्री कक्ष समेत शुरु भएका छन् । स्वस्थ मासु र स्वच्छ मासु उपभोगका लागि बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी आधुनिक प्रविधिमार्फत बध गरी प्याकेजिङको समेत व्यवस्था रहेको छ ।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरु अनुगमन गर्दा लापरबाही गरेको र खसीबोकाको भनेर बाख्रीको मासु बेचेका कैयौं स्थान फेला पारेकाले बधशालाकै मासु उपभोगतर्फ उपभोक्ताले ध्यान दिनुपर्ने बताइन् । पशु बधशालाले दिने मासु र बजारमा पाउने मासुको मूल्यमा एक रुपता कायम गरिएको छ । मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् । झण्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसी बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।