Shittalpati
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल

बुटवल, लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाबिच छलफल भएको छ । पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा आयोग र उपमहानगरपालिकाबिच छलफल भएको हो ।

छलफलमा जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्ति परिपूर्ति गर्न नसकेको गुनासो गरेका छन् । उनीहरुले स्थानीय तहहरुमा कर्मचारी अभावका कारण वडाहरुमा वडा सचिवहरु राख्न नसकेको, लेखा अधिकृत नहुँदा निमित्तबाट काम चलाउनु परेको र आएका कर्मचारीहरु अध्ययन विदामा बस्दा काममा समस्या आएको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहमा जिल्ला विकास समिति, महिला बालबालिका कार्यालय र त्यस्तै धेरै प्रकारका कर्मचारी रहेकाले सबैलाई न्याय हुने गरी व्यवस्थापन गर्नुको विकल्प नभएको बताए ।  उनले संघ र प्रदेशका लोकसेवाले कर्मचारी नपठाउने र करारमा कर्मचारी राखेर काम गर्दा अख्तियार र अदालतले हैरान गर्ने गरेको समेत गुनासो गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले स्थानीय तहहरुले माग गरे अनुसार कर्मचारी पठाउन कानुनी जटिलताका कारण समस्या भएको बताए । 

लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव महादेव पन्थले प्रदेश कर्मचारी ऐन कार्यान्वयनका चरणमा रहेको र स्थानीय सेवाको पनि छिट्टै नै पारित भएर कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताए ।

लोकसेवा आयोगका सदस्यहरु बाबुराम गौतम र डिम्पल गुरुङले लोकसेवा आयोगले स्थानीय तहहरुको आवश्यकता अनुसार पदपूर्ति गर्ने गरी तयारी गरिरहेको र त्यसै अनुसार छलफल गरेको बताएका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु,दाङ,गुल्मी पाल्पा, नवलपरासी पश्चिम सहितका जिल्लाहरुबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update