पाल्पा, जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिइएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि अन्तर्गतका सवारी चालकलाई सचेतना सम्बन्धी प्रशिक्षण दिइएको हो ।
कम्पनीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सवारी चालकलाई सचेतना अभिवृद्धीका लागि सडक सुरक्षा सतर्कता सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ, यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्ण प्रसाद आचार्य र श्रीनगर यातायात सेवा कम्पनी प्रा लि का कम्पनी सचिव भबिन्द्र गौतमले प्रशिक्षण दिएका थिए । उनीहरुले सडक सुरक्षा, ट्राफिक चिन्हको जानकारी, सवारीको क्षमता, ओभरटेक गर्ने तरिका, दुर्घटनापछि हुने कानुनी प्रावधान, ऐनमा भएको ब्यवस्था लगायतका बारेमा चालकहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कम्पनीका अध्यक्ष डिल बहादुर ढुङ्गानाले दुर्घटना बढ्नुमा चालकको लापरवाही कारक बनेको भन्दै त्यसलाई न्युनीकरण गर्न चालकहरुलाई प्रशिक्षण दिइएको बताए । सडकमा हुने लापरवाहीले दुर्घटना बढेकाले यसको नियन्त्रण गर्न चालक नै जिम्मेवारी हुनुपर्ने उनले बताए । चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेकाले चालकहरुलाई जिम्मेवार हुन अध्यक्ष ढुंगनाले आग्रह गरे । उनले सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न सके मात्र सार्वजनिक यातायातको यात्रा सुरक्षित बनाउन सकिने बताए ।
अध्यक्ष ढुंगनाले सिट क्षमता अनुसार यात्रु चढाउन, यात्रुलाई टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा नलिन चालकलाई आग्रह गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सञ्चार माहाशाखा प्रमुख कालिदस बस्यालले प्रशिक्षण कार्यक्रमबाट दुर्घटना न्यूनीकरणमा सहयोग हुने बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाका नायब सुब्बा मनोज आचार्यले मानविय त्रुटीबाट हुने दुर्घटनालाई रोक्न यस्ता कार्यक्रम निकै प्रभावकारी हुने बताए । कार्यक्रममा मजदुर प्रतिनिधि एकादेब पाण्डेले दुर्घटना हुने कारण चालकको मात्र दोस नभई सडक सवारीको अवस्था पनि मुख्य कारण रहेको उलेख गरे । कार्यक्रममा पाल्पाका १ सय ४१ जना सवारी चालक तथा सह–चालकहरु सहभागी भएका थिए ।