मुलुकको वर्तमान अवस्थाले गर्दा देश भित्र विभिन्न खालका समस्याहरु देखा पर्ने अवस्था आएका छन् । राजनीतिक अस्थिरताका साथै विकास र रोजगारीका सम्भावनाहरु समेत न्यून हुँदै गएको वर्तमान अवस्थाप्रति कुनै पनि दल, नागरिक समाज र वर्गिय रुपमा पनि चिन्ता र चासो देखिएको छैन । गृहमन्त्री जस्ता जिम्मेवार पदमा स्थापित केही ठूला दलका नेता, योजना निर्माण र नीतिका क्षेत्रमा दख्खल राख्ने निकाय कसैको पनि देश र जनताप्रति जुन रुपमा ध्यान जानुपर्ने हो, त्यो नगएका कारण पनि मुलुकका हरेक अवयवहरु खुकुल्ला हुँदै गएका छन् । यो अत्यन्त दुखको कुरा हो ।
जनता गरिबीको रेखाबाट बाहिर आउन सकेका छैन । मुलुकले सही बाटो नसमातेका कारण जनताका भावना र मर्महरु पनि विचलित अवस्थाबाट अगाडि बढिरहेका छन् । आर्थिक प्रगति अछुवा गतिबाट अगाडि बढी रहेका कारण देशले आर्थिक प्रगतिका सूचकहरु घट्ने खतराको शिकार हुनु परेको छ । मुलुकमा राजनीतिक अस्थिरताका कारण वैदेशिक लगानी कमजोर र असुरक्षित हुँदै गएको कुरालाई राज्य सञ्चालन गर्ने निकायहरुले सोच्न सकेको देखिदैन ।
यो बर्षको नीति र कार्यक्रमले गाँजाको व्यवसायिकता, स्थानीय मदिराको ब्राण्डिंग, केही युवाहरुलाई स्वरोजगार बनाउने नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्ने आशा पलाएका छन् । स्थानीय उत्पादत्व र बजारीकरणमा देखिएका समस्याहरुको सही रुपमा पहिचान गरेर अगाडि बढ्न नसक्दासम्म मुलुकले विकासको गति लिन सक्दैन र दीगो विकासको परिकल्पना गर्न सकिदैन । त्यसकारण पनि हामी र हाम्रा सन्ततिका लागि नयाँ नेपाल हस्तान्तरण गर्ने हो भने आर्थिक विकासका हरेक लक्ष्यहरुलाई परिणाम प्राप्तिका आधारहरु पहिल्याउनु नै आजको आवश्यकता हो । यदि यसो गर्न सकिएन भने देश सम्वृद्धिको बाटोमा जान सक्दैन भन्ने कुरा हामी सबैमा चेतना भया । त्यसका लागि सबैले लोकतन्त्रको संस्थागत विकास र असल राजनीतिक चरित्र देखाउनु आजको आवश्यकता हो ।