पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको छ । शनिबार जिल्लाको रामपुरमा भएको युनियनको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको हो । युनियनका निवर्तमान अध्यक्ष भरत शर्माको संयोजकत्वमा युनियनका उपाध्यक्षहरु रामचन्द्र रायमाझी, दानु हिस्की रहेको घोषणा पत्र निर्माण समितिले ६ बुँदे रामपुर घोषणा पत्र तयार गरी सार्वजनिक गरेको छ ।
युनियनले घोषणापत्रमा पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारसँगको समन्वयमा पत्रकारिता तालिम सञ्चालन गर्न पहल गर्ने, पत्रकारहरुको पेशागत सुरक्षाका लागि नेपाल प्रेस युनियनको साधारण सभाले आवश्यक कार्यक्रम तय गरी कार्यन्वयन गर्ने, कोभिडपछि सञ्चार माध्यममा देखिएको समस्याका कारण कार्यरत पत्रकारहरु सञ्चारमाध्यमबाट विस्थापित भएकाहरुलाई पुर्नवाहली गर्न पहल गर्ने, नेपाल पत्रकार महासंघमा सदस्यता दिलाउन प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई पहल गरिने उल्लेख गरेको छ ।
यस्तै रामपुर नगरपालिका– ६ मा रहेको पर्यटकीय सम्भावना बोकेको ज्याग्दी वृहद पार्कको प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गरिने, स्थानीय सरकारसँग समन्वय गरी रामपुरको विकास र विस्तारमा नगर सरकारले सञ्चालन गरेका हरेक गतिविधिमा सहभागिता जनाई उल्लेखनिय कामको प्रचार प्रसार गरिने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।