Shittalpati
प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल

पाल्पा, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा तथा वनभोज कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लम्सालले पछिल्लो समय सरकारबाटै प्रेसमाथि आक्रमण हुँदै गएकाले लोकतन्त्रमाथि नै प्रहार भएको बताएका हुन् ।

उनले प्रेसमाथिको आक्रमणले लोकतन्त्र नै खतरामा पर्दै गएको धारणा व्यक्त गरे । अध्यक्ष लम्सालले भने ‘मुलुकमा लोकतन्त्र ल्याउन प्रेसको महत्वपूर्ण भूमिका रहेको छ तर त्यही प्रेसमाथि नै आक्रमण हुँदा लोकतन्त्र नै खतरामा परेको छ ।’ सरकारकै कारण लोकतन्त्र धुजा धुजा बन्दै गएको भन्दै उनले त्यसको संरक्षणका लागि प्रेस जगत एक हुनुपर्नेमा जोड दिए । अध्यक्ष लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा समेत सत्ताको प्रभाव परेको बताए । उनले भने‘ महासंघको सदस्यता शुद्धिकरणमा सत्ताको प्रभावले आलटाल भएको छ । यो कुनै पनि हालतमा प्रेस युनियनलाई मान्य हुँदैन ।’ फरक प्रसंगमा अध्यक्ष लम्सालले प्रेस युनियनले छिट्टै रामपुरमा पत्रकारिता तालिम सञ्चालन गर्ने बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै नयाँ पत्रकारहरु उत्पादनमा युनियनले विशेष ध्यान दिने उल्लेख गरे। विशिष्ट अतिथि युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणका विषयमा युनियन गम्भीर रहेको बताए । उनले काम गर्ने कुनै पनि पत्रकारहरु सदस्यताबाट बञ्चित हुन नपर्ने भन्दै युनियनले सोही अनुसार केन्द्रमा छलफल र आफ्ना प्रयासहरु जारी राखेको उल्लेख गरे ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पत्रकारिताको मर्म अनुसार काम गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले स्थानीय सरसकारले थुप्रै राम्रो कामहरु गरेपनि पत्रकारहरुले त्यसको प्रचारप्रसार गर्न कन्जुस्याई गर्ने गरेको गुनासो गरे । कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्यहरु कृष्ण अधिकारी, विष्णुमाया थापा, सन्दीप राना, नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहा, युनियन पाल्पाका सल्लाहकार झपेन्द्र गहिरे, नेपाली काँँग्रेस पाल्पा क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाका सभापति निलकण्ठ देवकोटा, काँग्रेस महासमिति सदस्य देवराज ढकाल, काँग्रेस पाल्पा क्षेत्र नं. १ (क) का सभापति रामबहादुर राना, नेपाली काँग्रेसका रामपुर नगर सभापति नेत्र भट्टराई, नेकपा एमाले रामपुरका नगर उपाध्यक्ष अशोक (विशाल) श्रेष्ठ, माओवादी केन्द्रका रामपुर नगर अध्यक्ष यमबहादुर सुनार, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेकपा समाजवादीका रामपुर नगर सचिव कमल सेन, नेपाल महिला संघ पाल्पाकी कार्यवाहक सभापति मीना पन्थी, नेविसंघका केन्द्रीय सदस्य जीवन तिवारी, नेपाल प्रेस चौतारी पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेल, समाजवादी प्रेस संगठनकी प्रतिनिधि रमा अर्याल लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । साधारण सभाले कोषाध्यक्ष दीपक भट्टराईको आर्थिक प्रतिवेदन सचिवको सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । साधारण सभाको उद्घाटन सत्र युनियनका जिल्ला अध्यक्ष मन गहिरेको अध्यक्षता, उपाध्यक्ष दानु हिस्कीको स्वागत, अर्का उपाध्यक्ष विष्णु खनालको धन्यवाद, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update