नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ । यो नाम वा त्यो नाममा भेदभाव र छुवाछुत हुने गरेको छ । यो अत्यन्त दुखको कुरा हो । जात, धर्म, पेसा, क्षेत्र, लिंग, अपांगता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव छुवाछुत हो । नेपालको विकराल छुवाछुत प्रथा मूलतः जातीयरूपमा आधारित छ । यो जातीय भेदभाव तथा छुवाछुत प्रथा मुलुकमा जबरजस्त रूपमा स्थापित सामाजिक कलंक हो ।
यसलाई अन्त्य गर्न २०६३ जेठ २१ गते नेपालको पुनस्र्थापित संसदले मुलुकलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्षको जेठ २१ गते अर्थात् आजकै दिन जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ । मुलुक ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १८ औं वर्ष पूरा भएको छ तथापि, दैनिक जस्तो छुवाछुत तथा जातीय भेदभावसम्बन्धी घटना घटिरहेका छन् । यो विडम्वनाको कुरा हो । नेपालमा छुवाछुतका विषयमा दलित समुदाय र गैरदलित समुदायबीच मत विभाजित रहेको छ । यथार्थमा छुवाछुत समस्या समाधानमा दलित समुदायभन्दा बढी गैरदलित समुदाय जागरुक हुन आवश्यक छ ।
नेपाली समाजमा कतै जातिय भेदभाव, कतै लैङ्गिक भेदभाव हुने गरेका घटनाहरु थुपै्र हुने गरेका छन् । जातीय आधारमा अहिले पनि छुवाछूतजन्य संस्कार समाजमा स्थापितरुपमै विद्यमान छ । बारम्बार प्रकट हुने घटना र त्यसबाट भड्किँदो हिंसारुपी ज्वालाले अझै पनि समाजलाई विभाजित बनाइरहेकै छ । कतै तल्लो जातको भन्दै दिसा खुवाइएका घटनाहरु छन् त कतै सानो जात भनेर बोक्सीको आरोप लगाउँदै चरम यातनासमेत दिइरहेको पाइन्छ । कतै मन्दिर प्रवेश गरेको भन्दै मारिएका घटनाहरु अघि आउँछन् त कतै माथिल्लो जातसँग प्रेम गरेकै आधारमा ज्यानै जाने गरी सजाय दिइएका उदाहरणहरु खोज्ने हो भने बग्रेल्ती भेटिन्छन् ।
मानिस भएर जन्मिएपछि जातीय विभेद र छुवाछूतको बन्धनमा बाँधिदै अपमानितसँगै अवहेलित हुने सन्दर्भहरु अहिले पनि ठाउँ–ठाउँमा घटित भैरहनुले अन्धविश्वासलाई नै बढवा दिइरहेको छ । छुवाछुत भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो । यसर्थ विभेद र छुवाछुतको जरैदेखि अन्त्य गर्न जरुरी छ । यसतर्फ सरकार र सरोकारवालाहरु गम्भीर बन्नुपर्छ ।