पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई तालिमसँगै प्रविधि दिएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरुका लागि तीन महिने आधारभूत व्यवसायिक सिलाई कटाई तालिम र प्रविधि दिइएको हो ।
रामपुर नगरपालिका– १ स्याउली बजारमामा सञ्चालित एक महिने व्यवसायिक सिलाई कटाई तालिम आइतबार सकिएको छ । तालिम सकिएसँगै सहभागीहरुलाई प्रमाण पत्र र सिलाई मेसिन वितरण गरिएको हो । नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले मेसिन र प्रमाणपत्र हस्तान्तरण गर्दै तालिममा सिकेका कुराहरुलाई व्यवसायिक रुपमा लगाउन सहभागीहरुलाई आग्रह गरे । तालिममा सिकेको सीपको माध्यमबाट आत्मनिर्भर बन्न सकेमा मात्रै तालिम सञ्चालनको औचित्य हुने भन्दै त्यसको प्रभावकारी उपयोग गर्र्नुुपर्नेमा उनले जोड दिए ।
उनले महिलाहरुलाई उद्यमशिलतातर्फ लाग्न अनुरोध समेत गरे । वडा सदस्य जीवन माया नेपालीले तालिममा सिकेका ज्ञान, सीपमार्फत आत्मनिर्भर बनी समाजमा उदाहरण पेस गर्नुुपर्ने सुुझाव दिइन् । कार्यक्रममा नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षक भगवती विकले सिकेका सिपको व्यवहारमा लागु गर्न सुझाव दिए । कार्यक्रममा सहभागीहरुकोतर्फबाट खिम कुमारी नेपालीले तालिम प्रभावकारी भएको बताउँदै व्यवहारमा समेत उतार्ने प्रतिवद्धता जनाइन ।
तालिममा सहभागी ८ जना महिलाहरु मध्ये ७ जनालाई सिलाई मेसिन प्रदान गरिएको थियो । वडा अध्यक्ष कपिलबहादुर खाँणको अध्यक्षता, उद्यमविकास सहजकर्ता रुपेश बडुवालको सञ्चालनमा कार्यक्रम भएको थियो ।