Shittalpati
 प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन  

 

पाल्पा, लायन्स क्लव अफ रणउजिरेश्वरीको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ । शिविरमा महिलाहरुलाई केन्द्रीत गरेर विभिन्न पाँच प्रकार सेवा, चेक जाँच तथा परामर्श दिइएको थियो ।

शिविरमा पाठेघर मुखको क्यान्सर परीक्षण, छातिको क्यान्सर परीक्षण, आङ खस्ने परीक्षण, प्रजनन् अंगहरुको संक्रमण तथा यौन रोग परीक्षण र एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । कार्यक्रममा ६५ जना महिलाहरुको विभिन्न परीक्षण तथा प्रजनन् परामर्श लिएका थिए । परीक्षणको क्रममा ३ जनामा मात्र पाठेघरको मुखको क्यान्सर पोजेटिभ र ७ जनामा यौन रोग देखिएको थियो । पोजेटिभ देखिएका विरामीहरुको पनि थप उपचार परिवार नियोजन शाखा पाल्पामा हुने छ ।

कार्यक्रममा रणउजिरेश्वरी लायन्स क्लवकी संस्थापक पाल्पा अध्यक्ष मिना पन्थीले वार्षिक कार्ययोजना अनुसार स्वास्थ्य शिविर सञ्चालन गरिएको बताईन । कार्यक्रममा लायन्सका  जिल्ला सल्लाहकार राजेन्द्र लिगलले क्लवले मानवहितका लागि राम्रा–राम्रा कामहरु गर्दै आएको बताए । लायन एरिया प्रमुख भिमबहादुर श्रेष्ठले पाल्पामा रणउजिरेश्वरीले जनताको भावना अनुसार काम गरेको बताए । लायन सकुन्तला बज्राचार्यले सामाजिक सेवाको भावनाले लायन्स क्लवहरुले काम गर्दै आएको बताईन । कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यवाहक अध्यक्ष माधव अर्यालले निस्दीदेखी रैनादेवीसम्म निःशुल्क रुपमा प्रजनन् स्वास्थ्य शिविर गर्दै आएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका प्रवन्धक शोवाकान्त न्यौपानेले महिलाहरुको प्रजनन् स्वास्थ्य नियमित रुपमा परीक्षण गर्नुपर्ने, पाठेघर मुखको क्यान्सर, छातिको क्यान्सर, महिलाको आङ खस्ने, यौन रोग परीक्षण तथा उपचार संघबाटै नियमित रुपमा प्रदान गर्दै आएको बताए ।

रणउजिरेश्वरी लायन्स क्लवले परिवार नियोजन संघमै निःशुल्क स्वास्थ्य शिविर राखी सेवा गर्ने अवसर दिएकोमा धन्यवाद दिए । शिविरकी संयोजक एवं लायन ज्योती राजभण्डारीले महिलाहरुको मात्र एकिकृत प्रजनन् स्वास्थ्य शिविर प्रभावकारी भएको बताईन ।क्लवकी अध्यक्ष सरस्वती राजभण्डारीको अध्यक्षता, प्रथम उपाध्यक्ष शान्ती थापाको स्वागत र महासचिव अरुणा भट्टराईको सञ्चालनमा भएको थियो । संघका चिकित्सक डा. राकेशलाल बज्राचार्यले स्टाफनर्स चाँदनी श्रेष्ठ र सिनियर अनमी सरस्वती पन्थी लगायतले शिविरमा सेवा प्रदान गरेका थिए । शिविरमा उपचार गरेका विरामीहरुलाई निःशुल्क उपचार,औषधी  तथा परामर्श दिइएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update