Shittalpati
सत्तारूढ दललाई नै मन परेन बजेट 

पाल्पा, आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति उद्योगी व्यवसायीहरु उत्साहित भए पनि सत्तारुढ दलका नेताहरु नै असन्तुष्टि देखिएका छन् । सरकारले बजेटमा राजनीतिक दलसहित समग्र क्षेत्रबाट प्रशंसा भएको दाबी गरे पनि सत्तारूढ दलका नेताहरु नै बजेटप्रति असन्तुष्ट देखिएका हुुन् ।

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको बजेटमा सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले नै मन पराएको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दल नेकपा माओवादी केन्द्रको जस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार संसदीय दलको बैंठकमा अध्यक्ष ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी आएको बजेट अर्थमन्त्री र माओवादीतिर ढल्किएजस्तो देखिएको आरोप लगाएका थिए ।

उनले बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श, छलफल गरेर ल्याएको भए राम्रो हुने टिप्पी गरेका छन् । ओलीले छलफलमा आफ्ना सांसदहरुलाई बजेटमाथि प्रश्न गर्न समेत भनेका छन् । उनले बजेटप्रति आलोचना गरे पनि समर्थन र पारित भने गर्ने उल्लेख गरेका छन् । ‘बजेटलाई समर्थन गर्छौँ र पारित गर्छौँ । यसको अर्थ बजेटमा रहेको कुनै कमी पनि औँल्याउनै हुँदैन भन्ने होइन । बजेटमा रहेको कमी माननीयज्यूहरूले आफ्नो क्षेत्र, जिल्ला र प्रदेशमा हिजोको अवस्था र आजकोमा के कमीकमजोरी छ ?, के समावेश हुनुपथ्र्यो भएन ? वा के घट्यो ? यस्ता कुराहरूमा स्वाभाविक रूपमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ,’ ओलीले भने पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल  नै नगरेको बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले आफुहरुसँग कुनै छलफल नै नगरी अर्थमन्त्रीले बजेट ल्याएको आरोप लगाए । पौडेलले भने ‘सत्तापक्षीय राजनीतिक दलसँग सुझाव ल्याएको भए बजेट अझ राम्रो आउँथ्यो ।’ आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताए । कृषिमा लगानी दशकजस्तै सूचना प्रविधि क्षेत्रमा पनि लगानी दशक घोषणा भएकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको हो भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ ।  सरकारले महत्वाकांक्षी भन्दा पनि उच्च आकांक्षी बजेट ल्याएको पूर्वअर्थमन्त्री पौडेलको तर्क छ । एमालेले बजेटप्रति असन्तुष्ट जनाए पनि माओवादीका नेताहरुले भने सरकारको बचाउ गरेका छन् ।

माओवादी केन्द्रलका सचिव तथा सांसद देवेन्द्र पौडेलले बजेट सल्लाहमै आएको दाबी गरेका छन् । बजेटमा क्याबिनेटमा मन्त्रालयहरूबाट आउने योजना नै आउने बताए । सचिव पौडेलले एक/दुईवटा योजना छुटेको हुनसक्ने भए पनि सल्लाह नै नभएको भन्ने एमाले अध्यक्ष ओलीको कुरामा सत्यता नभएको जिकिर गर्दै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update