Shittalpati
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण

पाल्पा, पाल्पा जेसिजले वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले विभिन्न सरकारी निकाय, संघसंस्थाहरुको सहयोग, सहकार्य र समन्वयमा तानसेन नगरपालिका–५ बतासेडाँडामा वृक्षारोपण गरेको हो ।

जेसिजले व्ल्यूू जकराण्ड र गुुल्मोहर प्रजातिका १ सय १५ विरुवा लगाएको छ । मानववस्तीका कारण बोटविरुवाहरु नास हुँदै जाँदा वातावरणमा नराम्रो प्रभाव परेकाले सचेतना जगाउन वृक्षारोपण गरिएको जेसिज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले बताए । ‘वातावरण सम्पूर्ण प्राणी जगत्को घर हो । तर, रुख विरुवा नासका कारण वातावरणीय ह्रास, प्रदूषण, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनलगायत विभिन्न हानीकारक परिणामहरू निम्त्याउँदै गइरहेको छ,’ उनले भने, ‘हामीले वातावरणीय प्रदूषण कम गर्न र जनचेतना फैलाउन वृक्षारोपण र सचेतनाका गतिविधिहरु अगाडि बढाएका छौं ।’ जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण, सरसफाई, वैकल्पिक ऊर्जायुक्त साधनहरूको प्रयोग र वातावरण प्रदूषण कम गर्न जनचेतनामूलक कार्यक्रमहरू गर्न अभियान नै चलाएको उनले बताए । अध्यक्ष कार्कीले पर्यापर्यटनको विकासका लागि समेत टेवा पुुग्ने उद्देश्यले समेत विरुवा लगाइएको उल्लेख गरे । उनले विरुवाको संरक्षण समेत जेसिजले गर्ने बताए ।

तानसेन नगरपालिकाको सहयोग, डिभिजन वन कार्यालयको विरुवा तथा प्राविधिक सहयोग, बतासेडाँडा शिव मन्दिर सामुदायिक वन उपभोक्ता समिति, बतासेडाँडा टोलविकास संस्था,राधाकृष्ण टोलविकास संस्था,कैलाशनगर टोलविकास संस्था, प्रकाशपुर टोलविकास संस्था, देउराली टोलविकास संस्था, माछापुच्छ्रे टोलविकास समिति लगायतका संघसंस्थाहरुको सहकार्यमा वृक्षारोपण गरिएको जेसिजले जनाएको छ ।   

वृक्षारोपणपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद् वीरबहादुर रानाले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन वृक्षारोपण कार्यक्रमले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गरे । जलवायुजन्यको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको औल्याउदै उनले सबैले आफ्नो घर,सार्वजनिक स्थानहरुमा विरुवा लगाउनुपर्नेमा जोड दिए । सांसद रानाले वृक्षारोपण गरेर मात्र नहुने  र त्यसलाई संरक्षण गर्नु पनि उत्तिकै जरुरी रहेको बताए ।  

मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्राकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बन्दै गएको डिभिजन वन कार्यालय पाल्पाका  डिभिजन प्रमुख नारायणदेव भट्टराईले बताए । उनले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको चर्चा गरे । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा जेसिज पाल्पाका पूर्व अध्यक्ष शैलेन्द्र भट्टराई, संघका सचिव विदुर घिमिरे, तानसेन–  १ का वडा अध्यक्ष सुुनिल बस्याल, ३ का वडा अध्यक्ष बाबुुरत्न शाक्य, ४ का वडा अध्यक्ष हेमन्तराज शाक्य, ६ का वडा अध्यक्ष सागरमान महर्जन, कार्यपालिका सदस्य पुजा रावल, वडा सदस्यहरु मानबहादुर कार्की, यमबहादुर कार्की, कैलाशनगर टोलविकास संस्थाकी अध्यक्ष मालाती पौड्याल लगायतले अहिलेको अवस्थामा वृक्षारोपण अत्यावश्यक रहेको उल्लेख गरे ।  विभिन्न क्षेत्रबाट आएका १ सय ५० जना व्यक्तिहरुले वृक्षारोपण गरेका थिए । कार्यक्रम जेसिजका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, शाखा सम्पादक प्रकाश कार्कीको स्वागत, महासचिव विजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update