Shittalpati
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ  

पाल्पा, विद्यार्थीहरुले पर्यटन प्रवर्धनका लागि तानसेनमा सरसफाइ तथा विविध कार्यक्रम गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पाल्पा प्यारागन बोडिङ्ग स्कूलमा गठित राष्ट्रिय दीगो पर्यटन क्वल, ग्रीन फर गुड युथ क्लव र १.५ म्याक्स क्लवको संयुक्त आयोजनामा टोल सरफाइ तथा पर्यटन सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको हो ।

यहाँका प्यारागन बोडिङ्ग स्कूल, पाल्पा आवासिय विद्यालय, न्यून होराइजन माध्यमिक विद्यालय, पद्यम पव्लिक माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षकहरुले संयुक्त रुपमा भगवती टोलका विभिन्न क्षेत्रमा पुगेर सरसफाइ गरेको प्यारागनका शिक्षक रामु तिमिल्सीनाले बताए ।  

पर्यटन, वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थी, शिक्षक र विभिन्न संस्थाहरुका व्यक्तिहरूले भगवटी टोलस्थित स्कूलबाट आँखा अस्पताल, पाल्पा आवासिय क्षेत्र, अन्नपूर्ण गार्डेन परिसर, शितलपाटी हुँदै शिवालय मन्दिरसम्मको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू संकलन गर्दै परिक्रममा गरेका थिए । प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको पाल्पा प्यारागन स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले बताए । विद्यार्थीहरूलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन विद्यार्थीहरुले सरसफाइ गरेको उनले बताए । अध्यक्ष भट्टराईले भने ‘विद्यार्थीहरूलाई पढाइको अतिरिक्त वातावरण संरक्षण, पर्यटनको विकास गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुु पनि अहिलेको आवश्यकता हो, त्यसलाई हामीले महसुस गरेका छौं ।’

विद्यार्थीहरुले सोही अवसरमा पर्यटन सम्बन्धित हाजिरीजवाफ कार्यक्रम समेत गरेका छन् ।  प्यारागनका विद्यार्थीले हरेक वर्ष दिवसका दिन वातावरण सरसफाइसँगै पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको प्यारागनका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । सरसफाइ कार्यक्रममा पद्यम पव्लिक माविका प्रअ विष्णु बराल,न्यूू होराइजन माविका पूर्व प्रिन्सिपल भेषराज सुवेदी, पाल्पा  आवासीयका शिक्षक कमल बस्याल, पर्यटन व्यवसायी धनिश्वर बस्याल लगायतका व्यक्तिहरुको समेत सहभागीता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update