नयाँदिल्ली, प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् । राजिनामासँगै सन् २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनको लागि मार्ग प्रशस्त गर्नेछ ।
राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्री परिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिएका छन् । राजधानी दिल्लीमा बुधबार बसेको भारतको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई राजीनामा पेश गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णयपश्चात प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा जुन १६ मा कार्यकाल समाप्त हुने मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरिएको छ । स्रोतका अनुसार तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल–युनाइटेड (जेडीयू) को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने संकेत दिएका कारण भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार गठन र प्रधानमन्त्रीेको शपथ ग्रहण समारोह जुन ८ का लागितय गरिएको छ ।
बुधबार अपरान्ह हुने गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ । भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नवनिर्वाचित सांसदहरूको बैठक जुन ७ मा राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।