Shittalpati
वातावरण संरक्षण गरौं

वातावरणीय विनासका कारण जलवायु परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ । वातावरणमा आएको परिर्वतनले नेपाल र नेपाली प्रभावित हुन थालेका छन् ।

यो अत्यन्त दुखको कुरा हो । वातावरणीय विनाश दिन प्रतिदिन बढ्दै जँँदा यसको असर मानव समुदायले नै बेहोर्नु परेको छ । बढ्दो जनसंख्याको कारण भएको अव्यवस्थित सहरीकरण, विभिन्न पूर्वाधारहरूको निर्माण, बढ्दो मात्रामा यातायातका साधनहरूको प्रयोग, विभिन्न रासायनिक पदार्थहरूको प्रयोगले गर्दा वातावरण दिन प्रतिदिन प्रदुषण हुने गरेको छ ।

नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुन् । वातावरण तथा पर्यावरणका अवयहरुलाई संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष विश्व वातावरण दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखका दिन यो दिवस मनाउने गरिएको हो । बुधबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइएको छ ।  हरेक वर्ष  दिवस मनाइने गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । दिवसले चेतना जागृत गराउने उद्देश्य राखे पनि मानिसमा चेतना अवभावकै कारण वातावरण कुरुप बन्दै गएको छ ।

तीव्र विकासको नाममा वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर देखापर्न थालेको छ । विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिए स्वच्छ वातावरण राख्न सकिन्छ । स्वच्छ वातावरण कायम राख्न जल, जंगल र जमिन पर्याप्त मात्रामा रहेको नेपालमा पछिल्लो समय स्वच्छ वातावरण कायम राख्ने कुरालाई ख्याल गर्न छोडिएको छ । वास्तवमा वातावरण प्रदुषण हुन नदिनु नै वातावरण संरक्षण गर्नु हो । यसका लागि मानव सुमदायले बढ्दो जनसंख्या कम गर्नुपर्ने, जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनहरूको समुचित किसिमले प्रयोग गरी संरक्षण गर्ने, औद्योगिकीकरण तथा सहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, कीटनाशक औषधि र रसायनहरूको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनहरूको प्रदुषण कम गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update