‘जब पर्यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च हुने तर वास्तविक पीडितको पिडालाई कमी र नियन्त्रण भने गर्न नसकिएको तीतो यर्थाथ हामी सामु रहेको छ । तीन तहकै सरकारहरु, विभिन्न निकायहरु यसमा संलग्न हुने, राज्यको रकम खर्च पनि हुने तर प्रभावकारी पूर्व तयारी, उदार, राहत तथा व्यवस्थापन हुन भने सकेको देखिदैन । यो बर्ष पनि यस सम्बन्धमा सवाल उठी सकेको छ । गृहमन्त्रीले टाक्स फोर्स बनाउने घोषणा गरिसकेका छन्, हेरौ यसले कतिको काम गर्दाे रहेछ समयले देखाउला । बर्षेनी विपद् क्षेत्रमा अनुगमनको नाममा करोडौ रकम हेलिकप्टर उडाएर आकासमैं सके । पिडितले आश्वासन पाएको तर आश्वासन आश्वासनमा नै सिमित रहेको नमिठो विगत हामीसँग रहेकाले यो वर्ष यस्तो नहोस् । कतै यो वर्ष पनि यस्तै अवस्था त दोहरीने हैन जनमानसमा उत्पन्न निराशा आशामा परिणत होस् । विपद् पूर्वतयारी, प्रतिकार्य, उद्दार, राहत र पूर्नस्थापनासँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
पृष्ठभूमि: विपद् भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन तथा धनको क्षतिको साथै जीवनयापन र वातावरण प्रतिकूल असर पर्ने प्राकृतिक घटनालाई बुझ्न सकिन्छ । यस अन्तर्गत बाढी पहिरो, डुवान, भूकम्प, चट्याङ, आगलागी , शीतलहर, हिम पहिरो आदि पर्ने गर्दछन् । नेपालको भौगोलिक विविधताको कारण यी सबै खाले जोखिमको सामना गर्नु, विपद् व्यवस्थापन अन्तर्गत विपद् पूर्वतयारी, प्रतिकार्य, उदार, राहत र पूर्नस्थापना जस्ता पक्षहरु पर्ने गर्दछन् । भौगोलिक विविधता भएको कारण नेपाल प्रकोपका दृष्टिकोणले बहुजोखिमयुक्त देशको रुपमा रहेको छ ।
नेपाल भूकम्पीय जोखिमका दृष्किोणले एघारौं, बाढीको दृष्टिकोणले तीसौं र पहिरोको दृष्टिकोणले दश राष्ट्र मध्य एक र दक्षिण एसियामा पहिलो उच्च जोखिमयुक्त देशमा पर्ने गर्दछ । विपद् पूर्व सुचना दिएर नआउने भएकै कारणले यसले ठूलो भय सिर्जना गर्दछ, मानव जीवनलाई आतङकित बनाउँदछ । भय र आतङ्कित मात्रै कहाँ हो र ? यसले अकल्पनीय धनजनको क्षति पुर्याउने गर्दछ । भौगोलिक विविधता भएको हाम्रो देशमा विपद्को प्रकृति पनि फरक –फरक नै देखिने गर्दछ । सामान्यतया हिमालमा हिउँ पहिरो ,पहाडमा बाढी पहिरो तथा तराईमा बाढी आउने गरेको देखिन्छ । यस्ता विपद्को रोकथाम तथा न्युनिकरणका लागि पूर्व तयारीमा पनि भौगोलीक अवस्था अनुसारकै योजना तथा कार्यक्रम बनाउनु पर्ने देखिन्छ । विपद् प्राकृतिक कुरा हो यसलाई मानवीय प्रयासले रोक्न त हामी सक्दैनौ तर यसबाट हुने क्षतीलाई न्यूनिकरण गर्न भने पक्कै सक्दछौ । यसका लागि राज्यका निकाय, आम नागरिकहरु सक्रिय र सचेत भने हुनु पर्ने देखिन्छ ।
विगतमा के भइरहेको थियो त ?
नेपालमा विपत्त जोखिमलाई व्यवस्थापन गर्नका लागि विभिन्न नीतिगत, संस्थागत, कार्यगत व्यबस्था बनाईएको छ, यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नै स्थापना भएको छ भने प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को व्यवस्था रहेको र उक्त निकायले देशभरका संयन्त्रलाई नीतिगत निर्णय, समन्वय गर्ने तथा निर्देशन दिने काम गदै आएको देखिन्छ । यसका साथै गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय कार्यकारी समिति पनि रहेको छ । यसका साथै प्रदेशहरुमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, जिल्लामा सिडिओको अध्यक्षतामा विपद् व्यवस्थापन समिति र स्थानीय तहहरुमा स्थानीय विपद् व्यवस्थापन समितिको व्यवस्था गरि यसको न्युनिकरण, पूर्व तयारीका साथै राहत तथा उदारको कार्यमा लाग्नका लागि स्वायत्तता प्रदान गरिएको छ । विपद् व्यवस्थापनका लागि राष्ट्रिय कोषको व्यवस्था गरी दाताहरुले उक्त कोषमा रकम जम्मा गर्ने व्यवस्था पनि गरेको देखिन्छ । कोषमा अरवौ रकम खर्च नभएको तर पिडितहरुले आवश्यक राहत पनि प्राप्त नगरेको, वास्तविक पीडितहरु बाहिर परेको, ज्यादै ढिलो गरी उद्दार तथा राहतको काम भएको जस्ता गुनासाहरु विगतमा आएकोले सम्बन्धित पक्षको यस मामलामा बेलैमा ध्यान जानु पर्ने देखिन्छ । पछिल्लो समयमा विकासका नाममा गरिएको डोजरे विकासले पहाडका गाउँबस्तिहरु ठूलो जोखिममा रहेको देखिन्छ । अवैज्ञानिक यस्ता विकासले विकास होइन विनास निम्त्याएको देखिन्छ । वर्षादको एक दुई महिना पछुताउनु बाहेक यस पक्षमा कुनै सुधार हुने संकेत पनि देखिदैन । गाउँँमा बाटो पुग्नु नै विकास मान्ने हाम्रा जनप्रतिनिधि र टाठा बाठा केहि जनमानसको कारण बस्ति नै जोखिममा पुगेको, ठूलो धन जनको क्षति भएको बस्ति नै स्थानान्तरण गर्नु पर्ने घटना भएकाले यस पक्षमा आवश्यक नियन्त्रण र कार्य विधिनै बनाउनु पर्ने र यसका लागि सम्बन्धित पक्षको तत्काल ध्यान जानु पर्ने देखिन्छ ।
के गर्ने त ?
विपद् व्यवस्थापन र यसको तयारीका लागि भौगोलिक अवस्था र विपद्को प्रकृति पहिचान गरेर सोही अनुसार योजना तथा कार्यक्रम बनाउनु पर्ने देखिन्छ भने राहत र उदारलाई भन्दा पनि पूर्व तयारीमा जोड दिदै जोखीम पहिचानमा विशेष प्राथमिकता दिनु आवश्यक देखिन्छ । जोखीमयुक्त ठाँउका वस्तीहरुलाई अन्य सुरक्षित ठाउँमा स्थान्तरण गर्ने, नदी किनारका बस्तिलाई तत्काल स्थानान्तरण गर्ने, उक्त स्थानका नागरिकहरुलाई विपद् आउनुपूर्व आवश्यक सुचना सप्रेषणको व्यवस्था गर्ने, राज्यका निकायहरुलाई सक्रिय अवस्थामा राख्ने र विपद् स्थानमा तत्काल पुग्ने आवश्यक प्रवन्ध गर्ने, झन्झटिलो कागजी प्रक्रिया को अन्त्य गर्ने, पूर्ननिमार्ण र पुर्नस्थापनालाई विशेष जोड दिनुपर्ने देखिन्छ यसका साथै विपद् सिर्जना भै सकेपछि कोषमा रकम जम्मा गर्ने दाता खोज्ने कार्य नगरी पहिले नै आÞवान गरी पर्याप्त रकमको जोरजाम गर्नु पर्ने देखिन्छ । विगतमा राजनीतिक दलका भातृ संगठनले आफु खुशी राहत संकलन गर्ने, सेवा भन्दा पनि राजनीतिक उपलब्धि लिन खोज्ने प्रवृत्ति देखिएकोमा यस पटक पहिले नै यसलाई नियन्त्रणका लागि राज्यका संयन्त्र लाग्नु पर्ने देखिन्छ । राहत र उदारका नाममा कोषको रकमको हिनाबिना भएको, पिडितले पाउनु पर्ने रकम अनुगमन र निरक्षणको नाममा खर्च भएका विगतमा समाचार सुनिएकोमा यस पटक पहिले नै यस बेथितिको अन्त्यका लागि आवश्यक सजगता अपनाउनु पर्ने देखिन्छ ।
विपत न्यूनिकरणका लागि ध्यान दिनु पर्ने पक्षहरु:
– राज्यका निकायहरु बिच समन्वयकारी भूमिका स्थापित गर्ने ।
– विद्यमान नीतिगत व्यवस्थाको कार्यान्वयन गर्ने ।
– चेन अफ कमाण्डलाई सरल र सहज बनाउने ।
– राहत कोषमा पर्याप्त रकमको व्यबस्था गर्ने ।
– रेडियो ,टेलिभिजन ,पत्रपत्रिकामार्फत सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने ।
– सरकार र यससँग सम्बन्धी अन्य निकायसँग सहकार्य र समन्वयको भूमिका स्थापित गर्ने ।
– एम्बुलेन्स ,हेलिकप्टर तथा सुरक्षा सामग्रीको पर्याप्त व्यबस्था गर्ने ।
– सुरक्षा निकायहरुलाई पूर्व तयारीका साथ राख्ने ।
– तीन तहका सरकार बिच कार्य विभाजन मापदण्ड तयार गर्ने ।
– व्यक्तिगत सुरक्षा सम्बन्धी तालिमको व्यबस्था गर्ने ।
– नागरिकलाई सक्रिय बनाउने नीति लिने ।
निष्कर्ष: विशेषत विपद् प्राकृतिक कारण नै उत्पन्न हुने गर्दछ तर पछिल्लो समय यो प्राकृति भन्दा पनि मानविय लापरवाहिका कारण बढ्दै गइरहेको देखिन्छ । यसले धेरै थोरैसबै नागरिकलाई पीडा र भय भने उत्पन्न गराएको देखिन्छ । यसलाई रोक्न नसकेता पनि पिडा र क्षतिलाई कम गर्न भने पक्कै सकिने भएकाले राज्यका संयन्त्रहरु यसमा सक्रिय भएर लाग्नु जरुरी देखिन्छ । पूर्व तयारी, प्रतिकार्य, राहत तथा उदारमा यस वर्ष कुनै कमी नआओस् । सुरक्षा निकायहरुलाई माथिको निर्देशन कुर्नुपर्ने र समयमै उद्दार गर्न नसक्ने अवस्था यो पटक नआओस् । तीन तहका सरकारहरु आ–आफ्नो स्थानवाट सक्रिय भूमिका देखाउन । विपद्मा परेका पिडितले राज्यमा अभिभावक भएको महशुस गर्न पाउन । विगतका बर्षहरुमा जस्तो यो वर्ष देशभर विपद् र भयको अवस्था उत्पन्न नहोस् यहि कामना गरौं ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)