पाल्पा, जिल्लाको रामपुरका महिलाले प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम लिएका छन् । उनीहरुले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगाएतका विभिन्न सामग्री बनाउने तालिम लिएका हुन् ।
रामपुर नगरपालिकाले यहाँका महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले वनस्पतीको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम दिएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा नगर भित्रका ४० जना महिलाहरुले हस्तकलाका सामग्री बनाउन सिकेका छन् । रामपुर नगरपालिका–५ र ६ मा सञ्चालन भएको तालिमको एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र वितरण गर्दै उनले सिकेको सिपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गरे । नगर प्रमुख थापाले उत्पादित हस्तकलाका सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनको आधारमा अनुदान दिने समेत बताए । उनले भने, ‘सिकेको सिपको सदुपयोग गरेर उत्पादन गर्नुहोस् त्यसको बजारीकरण र खरिद नगरपालिकाले गर्छ ।’ उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई स्वाबलम्बी र उद्यमी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रममार्फत जोड दिंदै आएको बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको उनको भनाई छ । गाँउघरमा पाईने मकैको खोस्टा र थाकलको पातबाट पनि आयआर्जन गरी आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको उपप्रमुख थापाले बताईन् । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले हस्तकलाका सामग्री सजावटको लागि प्रयोग हुने भन्दै खाली समयको सदुपयोग गरेर भए पनि उत्पादन गर्नु पर्नेमा जोड दिए । उनले खेर गएका मकैको खोस्ट र थाकलको पातको सदुपयोगसँगै आर्थिक लाभ लिन आग्रह गरे ।
कार्यक्रममा तालिमका प्रशिक्षक डिला सिंजालीले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गरिन् । यस्तै सहभागीहरुको तर्फबाट रेखा पौडेल र सुमन खाम्चाले तालिम लाभदायी भएको भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा तालिम दिइएको हो ।