हाम्रा संवाददाता
बुटवल, श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित लुम्बिनी प्रदेशको बुटवलमा श्रमाधान रोजगार मेला बुधबारदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
मेला आज सकिदै छ । आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यसहित नेपाल सरकारले देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने कार्यक्रमअनुसार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय मेला सुरु भएको हो । मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीको अवसर हुँदा हुँदै पनि युवा विदेशमा रोजगारीमा जाने गरेको बताउँदै अब नेपालमै रोजगारीको अवसर सिर्जना गर्न रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताए । उनले रोजगारदाता र श्रमिकबिचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हाम्रा विश्वविद्यालयले अब सिपमा आधारित शिक्षा दिनुपर्ने बताए ।
मास्टर डिग्री गरेका युवाहरु सीप नभएकै कारण नेपालमा काम नपाउँदा विदेश पलायन हुन बाध्य भइरहेकोले अब सिपमा आधारित शिक्षामा जोड दिनुपर्ने उनले बताए । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मेला बिहीबारसम्म सञ्चालन हुनेछ । मेलामा ४० वटा स्टल रहेका छन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेरोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू छन् । मेलामा श्रम र रोजगारसँग सम्बन्धित विषयमा रहेर कार्यशाला गोष्ठी, अन्तक्र्रिया र छलफल हुनेछ ।
मेलाको पहिलो दिन श्रम आप्रवासनः कानुनी प्रक्रिया र मनेसामाजिक प्रभाव, यातायात रोजगारीका चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो । मेलाको दोस्रो दिन विहीबार शिक्षा र रोजगारी बिचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो र श्रम कानुनका अफ्ठेयाराहरू र फुकाउनुपर्ने गाँठो विषयमा छलफल तथा अन्तक्र्रिया हुनेछ । मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र ७ सय जनाले मेलाबाट रोजगारी प्राप्त गर्न सक्ने अपेक्षा आयोजकले गरेका छन् । मेलामा रोजगारदाताको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिनेछ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै सरकारले सातै प्रदेशमा समाधान रोजगार मेला आयोजना गरेको हो ।