Shittalpati
सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो

पाल्पा, विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।

मूल्य बढेरसँगै छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य विहीबार एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला  एक हजार आठ सय २५ रहेको थियो ।

सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update