Shittalpati
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी

बुटवल, बेरोजगार ३५ जनालाई रोजगार दिलाउँदै बुुटवलमा आयोजित श्रमाधान रोजगार मेला सकिएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त रुपमा दुुई दिने मेला आयोजना गरिएको थियो ।

मेलाबाट तत्काल ३५ जनाले रोजगारी पाएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलेको ‍‍‍‍मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका छन् । मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए । पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोश्रो चरणका लागि छनोट भएका छन् । पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए ।  श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताए ।

मेलामा ४१ वटा स्टल रहेका थिए । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेरोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू राखिएको थियो । मेलामा श्रम र रोजगारसँग सम्बन्धित विषयमा रहेर कार्यशाला गोष्ठी, अन्तक्र्रिया र छलफल समेत गरिएको हो ।

मेलाको पहिलो दिन श्रम आप्रवासनः कानुनी प्रक्रिया र मनेसामाजिक प्रभाव, यातायात रोजगारीका चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो । मेलाको दोस्रो दिन शिक्षा र रोजगारी बिचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो र श्रम कानुनका अफ्ठेयाराहरू र फुकाउनुपर्ने गाँठो विषयमा छलफल तथा अन्तक्र्रिया भएको उपमहानगरपालिकाले जनाएको छ । आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यसहित नेपाल सरकारले देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने कार्यक्रमअनुसार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय मेला गरेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update