Shittalpati
तिमिल्सीना बने नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापति

पाल्पा, नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापतिमा यमलाल तिमिल्सीना चयन भएका छन् । प्रजातन्त्रको स्थापना र पुनस्थापनाको संघर्षमा आफ्नो जीवनको पर्वाह नगरी होमिएका अथक योद्धाहरुको सक्रियतामा स्थापना भएको संघको शुक्रबार तानसेनमा भएको जिल्ला भेलाले तिमिल्सीनालाई सभापतिमा चयन गरेको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुुर्‍याएका निष्ठावान राजनीतिज्ञ तिमिल्सीना काँग्रेस पाल्पाका पुराना नेता हुन् । पूरै जीवन प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा ब्यतित गरेका उनलाई संघले जिल्लाको जिम्मेवारी सुुम्पिदिएको हो । पार्टीमा अत्यन्त सरल र इमान्दार नेताको छवि बनाएका तिमिल्सीना विद्यार्थी राजनीतिबाटै पार्टी राजनीतिमा आएका हुन् । २०२८ मा तत्कालिन हाइस्कुलमा विद्यार्थी युनियनको सहसचिव हुँदै २०३० मा उनी सभापति बनेका थिए । अध्ययनको शिलसिलामा भारत पुुगेका तिमिल्सीना २०३४ मा भारतमै नेपाली छात्र संघको सदस्य बने । उनी नेपाल फर्किसकेपछि २०३६ मा पार्टीको साधारण सदस्य बनेका थिए । पार्टीमै लगनीशल भएर लागेका तिमिल्सीना शिक्षक भएका कारण २०४० मा शिक्षक आन्दोलनमा समेत सक्रिय रहे । २०४६ सालको आन्दोलनमा उनी ३ पटक गिरफ्तारमा परेका थिए । २०४७ मा पार्टीको आमन्त्रित जिल्ला सदस्य बनेका उनी सोही अवधिमा ६ महिना जिल्ला सदस्यका रुपमा रहे । २०४९ देखि २०६२ सम्म पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका तिमिल्सीना २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय रहे । उनी आन्दोलनका क्रममा पटक –पटक गिरफ्तारीमा समेत परेका थिए । ५ पटक महासमिति सदस्य बनेका उनी ६ पटक महाधिवेशन प्रतिनिधि सदस्य बने ।  तिमिल्सीना पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य समेत बने । हाल उनी महाधिवेशन प्रतिनिधि सदस्य समेत हुन् ।

यस अघि प्रजातन्त्र सेनानी संघ नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो । संघको जिल्ला भेलाले तिमिल्सीनालाई सभापतिमा सर्वसमहत रुपमा चयन गरेको हो । प्रमुख अतिथि तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नवनियुक्त सभापति तिमिल्सीनालाई बधाई तथा शुभकामना दिर्दै संघलाई थप चुस्त र बलियो बनाएर लैजान आग्रह गरे । उनले भेलालाई सम्बोधन गर्दै पार्टीको स्थापनाकालदेखि नै राष्ट्रियता र प्रजातन्त्रको लागि जीवन उत्सर्ग गर्ने सहिदहरु र प्रजातन्त्रको स्थापना र रक्षार्थ जीवन उत्सर्ग गर्न चाहने सेनानीहरुको कारण नेपाली काँग्रेसले स्थापनाको लामो गौरवमय इतिहास कायम गर्न सफल भएको उल्लेख गरे । पूरै जीवन पार्टीको संगठन विस्तार, प्रजातन्त्र र लोकतन्त्र संस्थागतका लागि ब्यतित गरेका तिमिल्सीना प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श, निष्ठाका निम्ति उदाहरणीय व्यक्तित्व रहेको सभापति श्रेष्ठले बताए । उनले भने ‘यमलाल दाईले कहिल्यै छक्का पञ्जा गर्नुभएन । कुनै गुटमा पनि लाग्नु भएन । विवेकले देखेको बोल्नुहुन्छ । सरल भएकै करण पद पनि पाउनुभएन ।’

नेपाली काँग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपानेले कार्यक्रम माथि प्रकाश पारेका थिए ।  कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापतिद्वय झपेन्द्र गहिरे,ज्ञान बहादुर गाहा,सचिव सन्तोष कुमार थापा मगर, क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, २ का क्षेत्रीय  सभापति मुक्तिराम जिसी, काँग्रेस नेताहरु राजेन्द्र गोपाल सिंह, विधान श्रेष्ठ, देवराज ढकाल, काँग्रेस तानसेन नगर सभापति सुर्वणमुनी शाक्य लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । भेला संघका निवर्तमान अध्यक्ष प्रेमनाथ बस्यालको अध्यक्षता, निवर्तमान सचिव मुक्तिराम बस्यालको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update