देशका अधिकांस स्थानमा तापक्रम दिनदिनै बढेको छ । केही ठाउँमा पानी परे पनि अधिकांस स्थानमा अत्याधिक गर्मी छ । विशेषगरी चर्को गर्मीले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । दिनदिनै तापक्रम ४० डिग्रीभन्दा माथि पुग्दा सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यतिबिध्न छ कि पंखाको भरमा घरमा बस्न पनि गाह्रो छ । गर्मीका कारण सर्वसाधारण अपराह्न घरबाट निस्कन सकेका छैनन् । सहनै नसक्ने गर्मीले चोक–बजार सुनसान छन् । कतै सहनै नसक्ने गर्मी त कतै वर्षाले आमनागरिक समस्यामा परेका छन् ।
हालका दिनमा नेपाल–भारतलगायत ठाउँहरूमा अत्यन्त धेरै तापक्रम वृद्धि भएको छ । जसले गर्दा जनजीवन नराम्ररी प्रभावित हुनपुगेको छ । केही दिन पहिलेसम्म पानी परेको थियो । त्यसबेला चिसो महसुस भयो तर केही दिनयता पानी नपर्नाले एकाएक गर्मी बढेर जनजीवन प्रभावित भइरहेको छ । तराईका विद्यालयहरू केही दिनका लागि बिदा गर्नुपरेको छ । गर्मीका कारण मानिसहरू अस्वस्थ भइरहेका छन् । सामान्य गर्मीमै पनि झाडापखाला, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, पेटसम्बन्धी समस्याजस्ता प्रतिकूलता सिर्जना हुन पुग्छन् । असमान अवस्था सबैका लागि उत्तिकै जोखिमी हुन्छन्, त्यसमा पनि निम्न वर्गीय व्यक्तिहरूका लागि यस्तो अवस्था अझै अभिशप्त बन्न पुग्छ । एकातिर मानिसहरूसँग प्रतिकूल मौसमसँग प्रतिकार गर्ने पर्याप्त साधन र स्रोतको अभाव हुन्छ भने अर्कातिर बिरामी भइहालेका खण्डमा औषधोपचार गर्ने पैसाको खाँचो हुन्छ । यसका साथै त्यस्तो वर्गका लागि ज्यालामजदुरी गरेर खानुपर्ने बाध्यता हुन्छ । जसले गर्दा तिनले जस्तोसुकै अवस्थामा पनि घरबाहिर निस्किएर काम गर्नुपर्ने हुन्छ । प्रतिकूल वातावरणबाट बढी प्रभावित बन्ने वर्ग निम्न वर्ग नै हुनपुग्छ ।
एकातिर मौसमी प्रतिकूलताले सर्वसाधारणको खाद्य सुरक्षामै प्रभाव परिरहेको छ भने अर्कोतिर उत्पादन क्षमतासमेत घटिरहेको छ । उत्पादन पनि घट्ने र भएकै उत्पादन पनि भित्र्याउन नपाउने स्थिति आफैँमा प्रतिकूल देखिन्छ । त्यसैले प्रतिकूलतासँग जुध्दै आगामी दिनमा अगाडि बढ्न सर्वसाधारणलाई अहिल्यैदेखि सजग बनाउन थालिहाल्नुपर्छ । अन्यथा, यसले भविष्यमा अरू कठिनाइ उत्पन्न गर्नेछ । अहिले देखिएको यो मौसमी प्रतिकूलतालाई सामान्य घटनाक्रमका रूपमा मात्र हेर्न मिल्दैन । तसर्थ अहिल्यैदेखि आवश्यक सर्तकता अपनाउन जरुरी छ ।