पाल्पा, जिल्लाका स्थानीय तह, सुरक्षा निकायसहितको समन्वयात्मक बैठक रामपुरमा भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा अन्तरपालिकाबिच अनुभव आदन–प्रदानसँगै विकास निर्माणमा साझेदारी र साझा मुद्दा उठान गर्ने उद्देश्यले बैठक भएको हो ।
बैंठकमा पालिकाहरुले एक आपसमा आफ्ना कार्यप्रगति, नयाँ अभ्यास र देखिएका समस्याहरु आदन–प्रदान गरेका थिए । अधिकांश जनप्रतिनिधिहरुले वित्तिय समानीकरण अनुदानको कटौती, जिल्ला दररेट, नदी तथा खनिजजन्य सामाग्रीको उत्खनन्का विषयहरु उठान गरेका थिए ।
बैंठकमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले संघीय सरकारले स्थानीय तहलाई विनियोजन गरेको वित्तिय समानीकरण अनुदान कटौती गर्दा योजनाहरु प्रभावित हुने गुनासो गरे । राजस्व बाँडफाँडमा रकम थपघट हुनुस्वभाविक भए पनि समानीकरण अनुदान बिचमा फेरबदल हुन नहुने उनको तर्क थियो । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जिल्ला दररेट कम हुँदा उपभोक्ताहरु मर्कामा परेको बताउँदै दररेट परिमार्जन गर्नुपर्नेमा जोड दिए । बैंठकमा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी शर्मा भट्टराई लगायतले जिल्ला भित्रको बेरुजु कम गर्न साँझा धारणा बनाएर अघि बढ्नु पर्ने, पालिकाले घरेलु मदिरा ब्राण्डिङ्गमा काम गरे पनि प्रदेश र संघबाट कानुन निर्माण नहुँदा समस्या भएको, दररेटको विषयमा पटक–पटक आवाज उठाउदै आए पनि समाधान हुन नसकेको, अनुदान कटौतीले स्थानीय तहको विकासमा समस्या पर्ने, जग्गा मूल्याङ्कनमा रोपनी अनुसारको दर हुनु पर्नेमा आनामा हुँदा जनगुनासो बढेको लगायतका समस्या तथा गुनासाहरु राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेले स्थानीय तहबाट आएका गुनासोको विषयमा प्रकाश पारेका थिए । कोष तथा लेखानियन्त्रण कार्यालयका लेखानियन्त्रक शशिन्द्र खातीले जिल्लाको वित्तिय अनुशासनको बारेमा जानकारी गराए ।
बैंठक ११ बुँदे रामपुर घोषणापत्र जारी गर्दै सकिएको छ । घोषणा पत्रमा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि जिल्ला भित्रका पर्यटकीय गन्तब्यहरुलाई सडक, पदयात्रा तथा अन्य पूर्वाधारहरुले एक आपसमा जोडी पर्यटकीय गतिविधी बढाउन योजना बनाई काम गर्ने, बुटवल पावर कम्पनीको विद्युत महशुल वृद्धि विरुद्ध ऐक्यवद्धता जारी गर्ने, स्थानीय दररेट निर्माण गर्ने तथा यथार्थपरक जिल्ला दररेट बनाउने विषयमा जिल्ला दररेट निर्धारण समितिलाई सुझाव र निर्देशन दिने, आन्तरिक राजस्व वृद्धिका लागि नदीजन्य पदार्थ निकासीका लागि साझा मार्गचित्र बनाउने । कालीगडण्की नदीबाट नदीजन्य पदार्थ निकासीका लागि सर्वोच्च अदालतको स्टेअर्डर हटाउन न्यायिक पहल गर्ने, रामपुर कपुरकोट सडकको पाल्पा खण्डमा रकम विनियोजनका लागि पहल गर्ने उल्लेख छ । त्यस्तै संघ र प्रदेश सरकारबाट आउने अनुदान काटिने समस्या समाधान गर्न संघ र प्रदेशलाई खवरदारी गर्ने, प्रत्येक पालिकामा सहुलियत र रैथाने पसल सञ्चालन गर्ने साथै स्थानीय र अनुदानप्राप्त उत्पादनहरु अन्तरपालिका कारोवार गर्दा सहुलियत दरमा खरिदविक्री गर्ने व्यवस्था गर्न पहल गर्ने, कृषि तथा पशुजन्य उत्पादन बजारीकरणका लागि साझा संयन्त्र बनाउने, जग्गा मूल्याङ्कनमा आएको जनगुनासोलाई सम्बोधन गर्ने गरी पुनरावलोकन गर्न मालपोत कार्यालयलाई निर्देशन दिने, बेरुजू नहुने गरी कार्यसम्पादन गरिने, बेरुजु फर्छयौटलाई उच्च प्राथमिकता दिइने बताईएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डित, निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, रम्भा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठाकुर अर्याल, तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखबहादुर बस्नेत, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकिय रामप्रसाद घिमिरे, पूर्वखोला गाउँपालिकाका योजना शाखा अधिकृत विनोद नेपाल, रैनादेवी छहरा गाउँपालिका प्रशासन शाखा अधिकृत रामप्रसाद पाण्डे लगायतले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको स्वागत, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।