Shittalpati
कृषक दिवसको सार्थकता

१२ औं राष्ट्रिय कृषक दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष जेठ २७ गते यो दिवस मनाउने गरिन्छ । देशभरका कृषकहरुको सम्मानको लागि यो दिवस मनाउने गरिएको हो । दिवसले कृषकको आवश्यकता र महत्वलाई उजागर गर्दछ ।

यसले राष्ट्रिय कृषि पेसालाई प्रवद्र्धन गर्दै, निर्वामुखी कृषिबाट ब्यवसायिक कृषिको यात्रालाई पैरवी गर्न दिवसको विशेष महत्व रहेको छ । तर नेपाललाई कृषिप्रधान देश भनिए पनि यहाँका कृषकले त्यसको अनूभुति भने गर्न पाएका छैनन् । कृषिप्रधान मुलुकमा कृषककै नाममा एक दिन विशेष उत्सव मनाउनुको आफ्नै अर्थ छ । तर कृषकसँग अन्तरसम्बन्धित वर्षौंदेखिका मुद्दालाई सम्बोधन गर्ने दिशामा भने कुनै पाइला नचाली खालि तामझामका साथ दिवस मात्रै मनाउनुको चाहिँ कुनै अर्थ छैन । त्यसैले, परिणाम दिने कार्यमै सम्बद्ध पक्षको थप मिहिनेत आवश्यक छ । खासगरी कृषि उत्पादन वृद्धि गर्न कृषकहरुले सकिरहेका छैनन् । यसको मूल समस्या भनेको मलबिउ अभाव र सिँचाइ असुविधा हो । हरेक वर्ष कृषिजन्य वस्तुमा मल हाल्नुपर्ने बेलामा कृषकले मल नै पाउदैनन् । यो जस्तो विडम्वना अर्को कुनै हुन सक्दैन । 

सम्भावना भएर पनि व्यवस्थापकीय कमजोरीका कारण कृषि उत्पादन बढाउन नसक्नु र विदेशी मुद्रा सञ्चिति घटेर अर्थतन्त्र संकटोन्मुख रहेकै अवस्थामा कृषि सामग्रीका नाममा अर्बौं रुपैयाँ बाहिरिनु कहालिलाग्दो अवस्था हो । यो अवस्थाको अन्त्य गर्न मलबिउसम्बन्धी सरकारकै नीति पूर्ण रूपमा कार्यान्वन हुन आवश्यक छ । मलको आपूर्ति व्यवस्था सहज बनाउन सरकारले नै जारी गरेको मल नीति छ, जसअनुसार बाली लगाउनु ६ महिनाअघि नै मल सुनिश्चित गर्नुपर्छ, र बाली लगाउने बेला घरदैलोमा पुर्‍यादिनुपर्छ । तर त्यसो हुन नसक्दा उर्जावान युवाशक्ति दिन–प्रतिदिन विदेशिने क्रम बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । कृषि उत्पादन बढाउनुपर्छ, कृषकको महत्व धेरै छ भनेर वर्षको एकदिन कृषक दिवसमा भाषण गरेर मात्रै कृषकको समस्या पूरा हुने र उत्पादनमा वृद्धि हुने होइन ।

कृषकलाई आधुनिक तरिकाबाट खेती गर्न सिकाउने र व्यावसायिक बनाउन सक्नुपर्छ । त्यसका लागि भरपर्दो तालिम दिन सक्नुपर्छ । लगनशील र इमानदार किसानको पहिचान गरी अनुदान दिने र कृषि उद्योग खोल्न प्रोत्साहन दिन सक्नुपर्छ । कृषकले उत्पादन गरेका कृषिजन्यवस्तु बिक्रीका लागि पर्याप्त बजारको व्यवस्था गरिनुपर्छ । यसो भयो भने मात्र हरेक वर्ष कृषक दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित हुन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update