Shittalpati
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं

पाल्पा, भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।

भाजपा नेता मोदीले आज साँझा ऐतिहासिक तेस्रो कार्यकालको लागि शपथ लिदै छन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो । अघिल्ला दुई निर्वाचनमा भाजपा एक्लैको बहुमत आएको थियो । यसपटक भने भाजपाले बहुमत ल्याउन सकेन । तर, एनडीएमा आबद्ध दलहरूको बुधबार बसेको बैठकले मोदीलाई सर्वसम्मत नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो । भारतमा लगातार तीनवटा चुनाव जितेर तेस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति मोदी बनेका छन् । यसअघि उक्त रेकर्ड जवाहरलाल नेहरूको नाममा थियो । अहिले भारतको चुनावी नतिजा र विकसित हुँदै गरेका घटनाक्रमलाई नेपालमा पनि नजिकबाट हेरिँदै छ । 

एकल बहुमतको राजबाट गठबन्धन सरकारको नेतृत्व गर्दै गर्दा मोदीको नेपाल नीति कस्तो रहला भन्नेमा यहाँ बढी चासो छ । नेपालसँगको सीमा समस्यामा विदेश मन्त्रालयले तत्कालीन रूपमा सन्तुलित कूटनीतिक संवाद गर्न नसक्दा दुवै देशले फरक–फरक नक्सा निकाल्नुपर्ने भयो । साथै, गोर्खा सैनिक भर्तीमा नेपालीको सहभागिता रहँदै आएकामा मोदी सरकारले ल्याएको चारवर्षे अग्निवीर सैनिक भर्तीको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन । 

१० वर्षअघि गुजरातको मुख्यमन्त्री छाडेर मोदी नयाँदिल्ली आएका थिए । त्यसबेला भाजपाका चर्चित नेताहरूलाई पछि पार्दै उनी प्रधानमन्त्री बनेका थिए । त्यस यता उनी निरन्तर प्रधानमन्त्री बन्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आज नयाँदिल्ली जान लागेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहाल शपथ ग्रहणमा जाने सम्बन्धमा निर्णय गरेको थियो । उनीसहित ५ जना सहभागी हुने छन् । मन्त्रिपरिषद्ले शनिबार बिहान भारत जाने टोलीको नाम तय गरेको हो । प्रधानमन्त्री दाहालकोसाथमा कानुनमन्त्री गिरी, परराष्ट्र सचिव सेवा लम्साल, दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुने छन् । मोदीले यसअघिजस्तै आफ्नो शपथ ग्रहण समारोहमा छिमेकी देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेका हुन् । शपथ ग्रहण समारोहमा नेपालबाहेक बंग्लादेश, माल्दिभ्स, भुटान, श्रीलंका, मौरिसस र सेसेल्सका सरकार÷राष्ट्रप्रमुख सहभागी हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update