Shittalpati
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय

पाल्पा, पूर्व उद्योगमन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाली जनताको सेवा र पाल्पाको विकासमा निरन्तर लाग्दै आएको बताएका छन् । तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि हुँदा र नहुँदा दुबै समयमा पाल्पाको विकासमा आफु निरन्तर खटिएको बताएका हुन् ।

नेपाल रेडक्रस सोसाईटी पाल्पाले ब्लड बैक सञ्चालनको लागि चन्दा रकम संकलन गरिरहेको बेला नेता पाण्डेयले भने भवन निर्माणको लागि संघीय सरकारबाट बजेट विनियोजन गरेको बताएका छन् । उनले भने ‘म आफै श्रीमतिको नामबाट पाल्पामा ब्लड बैक सञ्चालन गर्ने योजनामा थिए तर कानुनी प्रावधानमा रेडक्रस र अस्पताल बाहेक अरुले सञ्चालन गर्न नमिल्ने भएपछि विगत ३ महिनाको खटाई पछि शहरी विकास मन्त्रालयबाट भवन निर्माणको लागि १ करोड ५३ लाख बजेट विनियोजन गराउन सफल भएको छु ।’ नेता पाण्डेयले आफु २ करोडको प्रस्ताव लिएर गएकोमा बजेट अभावका कारण आगामी बर्षको लागि १ करोड ५३ लाख  मात्रै विनियोजन गराउन सफल भएको बताए ।

यस्तै तानसेनलाई बौद्ध पर्यटकको केन्द्र बनाउन महाचैत्य विहार टक्सारलाई पनि आगामी बर्षको लागि १ करोड ५३ लाख विनियोजन गराउन सफल भएको पूर्वमन्त्री पाण्डेयको भनाई छ । विहारको लागि पनि २ करोड प्रस्तावसहित निवेदन पेश गरे पनि प्रस्ताव अनुसार रकम नपरेको भन्दै उनले निर्माणको क्रममा रकम अपुग भएमा थप रकम जुटाउने जिम्मा आफ्नो भएको बताए । लुम्बिनी आएका बौद्ध पर्यटक तथा भिक्षुहरुलाई पाल्पा ल्याउने अभियानमा आफ्नो ध्यान रहेको पूर्वमन्त्री पाण्डेयको भनाई छ । सबैको सहमतिमा श्रीनगर बौद्ध बगैचाको रुपमा विकास गरेर गएमा तानसेनलाई बौद्ध पर्यटकको शहरको रुपमा विकास गर्न सकिने उनले बुझाई छ ।

यसैगरी दमकडा बाल उद्यान निर्माणको लागि १ करोड, माण्डव्य क्याम्पसमा बहुउद्देश्यीय भवन निर्माणको लागि १ करोड, घोरबन्दा गोठेचौर ,ठूला चौर पिप्ले माडी चक्रपथको लागि १ करोड, चिलाङ्दी मालारानी सडक स्तरोन्नतिको लागि १ करोड, फेक बुढीकोट दोभान सडक स्तरोन्नतिको लागि १ करोड, कृषि समाग्री अलैची कुवा पहुँच मार्ग निर्माणको लागि १ करोड, तानसेन ७ को सहलगानी खानेपानी देखी सिद्धार्थ राजमार्गसम्मको सडक निर्माणको लागि १ करोड, प्रभासदेखी सरस्वती माविसम्मको सडकको लागि १ करोड, रिडी कुसेनी ख्याहा मोटरबाटो १ करोड ८ लाख, प्रभास प्रतिक्षालयदेखी पोलस्टार सहलगानी खानेपानीसम्म सडक निर्माणको लागि १ करोड, प्रभास सडक नाली स्तरोन्नतीका लागि १ करोड, रिब्दीकोट पार्किङ पुर्वाधारका लागि १ करोड, तिनाउ डुम्रे मस्याम मोटरबाटोका लागि १ करोड, गैरागाउँ चण्डीस्थान भवन निर्माणको लागि ३५ लाख, आदीवासी भवन निर्माणको लागि २० लाख लगायतका योजना लामो प्रयास र खटाई पछी जिल्लामा पार्न सफल भएको पूर्वमन्त्री पाण्डेयले जानकारी गराए । विगतमा पनि पाल्पाको विकास निर्माणदेखी, सिद्धार्थ राजमार्गको स्तरोन्नति, मोड कटान, तानसेन रिडी सडकको स्तरउन्नति मोड कटान, पाल्पामा पिसियार मेसिन भित्राउनेदेखी सिद्धबाबामा सुरुङ्गमार्ग निर्माणको लागि र तानसेनको कालीगण्डकी खानेपानीको लागि नियमित रुपमा दवाव सिर्जना गरी योजना पार्न आफ्नो पनि प्रमुख भूमिका रहेको पुर्वमन्त्री पाण्डेले बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुवँर, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार शाही लगायतले पूर्वमन्त्री पाण्डेयले पाल्पाको विकास निर्माणमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update