Shittalpati
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत पाएका हुन् ।

माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै पाण्डेको पक्षमा मतदान गरेपछि उनले विश्वासको मत पाउन सफल भएका हुन् । मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत खसेको थियो । बैठकमा ५९ जना सहभागी थिए । सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएको घोषणा गरे । मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेपाली कांग्रेस, राप्रपा, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए ।

सर्वोच्च अदालतको परमादेशअनुसार यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् । देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि विपक्षी सांसदले केहीबेर नारावाजी गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update