पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –९ चापपानीस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । एक दिने शिविरमार्फत यहँँका ५५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा स्कुल हेल्थ कार्यक्रम अन्तर्गत बालरोग तथा दन्तरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा धेरै जसो बालबालिकाहरुमा पेटको समस्या, ग्याष्ट्रिक तथा दात किराले खाने समस्या देखिएको थियो । शिविरमा बाल रोग विशेषज्ञ रमेश खड्का र दन्तरोग विशेषज्ञ विवेक न्यौपाने सहित चिकित्सकहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
शिविरमा पुगेका वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले मेडिकल कलेज र रोटरी क्लवले विद्यालयमै आएर विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेर प्रशंसनिय कार्य गरेको भन्दै संस्थाहरुप्रति आभार व्यक्त गरे । बालरोग बिशेषज्ञ डा. रमेश खड्काले खानपिनमा ध्यान दिने हो भने धेरै जसो रोग लाग्ने सम्भावना कम हुने बताए । उनले स्वासथ्यप्रति सजग हुन सचेतना अभियानै सञ्चालन गर्नुपर्नेमा जोड दिए । डा. खड्काले जङफुड खानाले बालबालिकाको स्वास्थ्यमा विकराल समस्या ल्याउन सक्ने हुँदा हरेक अभिभावकले ध्यान दिनुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि अर्यालले बालबालिकामा बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गदै स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधी उपलब्ध गराइएको थियो । रेफर भएर आउने विद्यार्थीहरुलाइ मेडिकल कलेजले १० प्रतिशत छुटमा सेवा दिने समेत जनाएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष रमेश न्यौपानेले विद्यालयमा आएर सेवा दिन पाउदा निकै खुसी लागेको बताए । उनले आउँदा दिनहरुमा पनि आवश्यक ठाउँमा स्वास्थ्य शिविर लगायत अन्य विभिन्न सामाजिक कार्य गर्दै जाने बताए । विद्यालयका प्रधानाध्यापक जीवराज घिमिरले विद्यालयलाई शिविरका लागि छनोट गरेकोमा रोटरी क्लब र लुम्बिनी मेडिकल कलेजसहित सहयोग गर्ने दाताहरुलाइ धन्यवाद दिए । कार्यक्रममा तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदिप खनाल,लुम्बिनी मेडिकल कलेजका सुजन कार्की लगायतले शिविरको खुलेर प्रशंसा गरेका थिए ।