बालश्रम विरुद्धको विश्व दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवस हरेक वर्षको जुन १२ का दिन संसारभर मनाउने गरिन्छ छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो ।
विभिन्न राजनीतिक दल तथा सरोकारवाला संघसंस्थाहरुले हरेक वर्ष विभिन्न नारा तय गरी बालश्रम अन्त्य गर्ने उद्घोष गर्दछन् । तर त्यसले सार्थकता भने पाउन सकेको छैन । अझै पनि सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना उस्तै छन् । राजनीतिक दलका नेताले सार्वजनिक रुपमा भाषण र आफ्ना पार्टीका घोषणापत्रमा जतिसुकै बालश्रम अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेपनि बालश्रम ज्यूँका त्यूँ छ । हरेक दिनजसो बालश्रम सम्बन्धी घटनाहरु घटिरहेका छन् ।
अहिले बालश्रम मानव विकासका लागि एक प्रमुख अवरोध मात्र होइन समृद्धिका लागि प्रमुख चुनौती समेत बनेको छ । बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन नसक्नु दुखद् हो । बालश्रम गराउनु भनेको शोषण हो एकप्रकारको दासत्वा पनि हो । तर यो कुरा मनन् गरिएको छैन ।
दिवस मनाई रँहदा लाखौँको संख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका छन् । मोटरसाईकल मर्मत गर्ने वर्कसप होस् वा होटल रेष्टुरेन्ट, सवारी साधन होस् वा कलकारखाना जताततै बालबालिकालाई बालश्रममा लगाइएको छ । बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा विरुद्धमा कसैले काममा लगाएमा एक वर्षसम्म कैद वा पचाँस हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन । बालअधिकारको क्षेत्रमा समर्पित भएर लागेका संस्था हुँदै नभएका भने होइन । तर यहाँ राम्राभन्दा नराम्रोको नै बढी बोलवाला देखिने गरेको छ । बालबालिकाको दुःख र उनीहरुको अवस्था हाम्रा कतिपय समाजसेवीको लागि दुहुनो गाई भएका छन् । जब सम्म बालमैत्री शासन र बालअधिकारको सुनिश्चितताको लागि घर परिवारदेखि विद्यालयसम्मको वातावरण अनुकुल बनाउन सरोकार पक्षको व्यवहारिक प्रतिवद्धता रहँदैन तबसम्म बालश्रम अन्त्य गर्ने नारा नारामै सिमित हुने निश्चित छ ।