Shittalpati
रामपुरको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सुझाव

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बनाउन लागेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आयोजना गरेको सल्लाहकार र पत्रकारहरुसँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलनसँगै छलफल कार्यक्रममा सहभागीहरुले कृषि र पर्यटनलाई जोड दिन सुझाव दिएका हुन् ।

दिगो विकास र समृद्धिको आधार नै कृषि र पर्यटन रहेको बताउँदै उनीहरुले नीति तथा कार्यक्रममा उक्त क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । स्वरोजगार र आर्थिक समृद्धिका लागि नगरको पर्यटन क्षेत्रको पहिचानंसँगै विस्तार र विकासमा जोड दिन सहभागीहरुले सुझाए । कार्यक्रममा रामपुर नगरपालिकाका पूर्व उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पर्यटन लगाएत अन्य व्यवसायको प्रवद्र्धन गर्ने नीति अवलम्वन गर्न आवश्यक रहेको औँल्याइन । उनले धार्मिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धन गर्नु पर्नेमा जोड दिइन् । नगरपालिकाका सल्लाहकार सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णुमाया ढकालले पर्यटनको विकाससँगै राजश्व वृद्धि हुने क्षेत्रमा लगानी बढाउन सुझाव दिईन् । उनले हरेक विद्यालयमा प्रदान गरिने शिक्षालाई व्यवहारिक बनाई फरक शिक्षा नीति लागु गर्न आग्रह  गरिन् ।

कार्यक्रममा १ का पूर्व वडा अध्यक्ष मित्रलाल कंडेलले दिगो विकास र आवश्यकताको पहिचान गरेर अगाडि बढ्न आग्रह गर्दै वातावरण अनुसारको कृषि खेती प्रणाली लागु गर्न आवश्यक रहेको बताए । यस्तै ३ का निवर्तमान वडा अध्यक्ष दिनेश खनालले कृषिमा आधुनिकिकरणको नीति अवलम्बन गर्न सुझाए । ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्लले रोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने जोड दिए । छलफल कार्यक्रममा ८ का निवर्तमान वडाध्यक्ष बोम बहादुर नामजालीले रामपुरको महिमालाई जोड दिदै पर्यटन प्रवद्र्धनको नीति लागु गर्न आवश्यक रहेको उल्लेख गरे ।

यस्तै १० का निवर्तमान वडा अध्यक्ष लिलबहादुर गाहाले पहुँच मार्गलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गर्न सुझाए । यसैगरी रामपुर नगरपालिकाका सल्लहाकार फणेश्वर गौतमले नगरको विकासका लागि तिनै तहका सरकारबिच समन्वय गर्दै कृषि र पर्यटनको विकास गर्न आवश्यक रहेकोमा जोड दिए  ।

यस्तै नगर सल्लाहकार राम प्रसाद गैरेले आर्थिक समृद्धिसँगै आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । छलफलमा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सुनिल कार्कीले रामपुर अनेकन सम्भावना बोकेको नगरपालिका भएको भन्दै प्रचार–प्रसारसँगै समुन्नत विकास गर्न आग्रह गरे । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नीति तथा कार्यक्रम राम्रो भए उपलब्धी हासिल हुने भन्दै आवश्यकता अनुसार संकलित सुझावलाई कार्यान्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख रमण बहादुर थापाले सहभागीहरुको सुुझावलाई आत्मसाथ गरेर नीति तथा कार्यक्रम ल्याइने बताए । नगर सरकारले बनाउने नीति तथा कार्यक्रम जनतामुखी हुने र कार्यान्वयनमा आफुहरु तदारुकताका साथ लाग्ने बताए ।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update