Shittalpati
पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो । रानाले ‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन, गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ ।’

उनको प्रमुख पेसा कृषि हो । आफुले लगाएको खेतीपातीमा रोग लाग्दा लगानी समेत नउठ्ने उनले बताए । ‘मकै छर्दादेखि थन्काउँदासम्म ३०/४० हजार रुपैयाँ लाग्छ, मकै हुने नहुने थाहा छैन’ उनले भने । उनको जस्तै सोही ठाउँकी सीता न्यौपानेको पनि उस्तै छ । ‘रोग नलाग्दा खान पुग्थ्यो । यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ । रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ न्यौपानेले भनिन् ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ ? हामीलाई उपचारको खाँचो छ ।’ बारीमा लगाएको सबै मकै फौजी किराले खाइदिएको नव जनचेतनासँग उनले गुनासो गरिन् । ‘मेरो मात्र होइन, गाउँका प्रायः सबैको मकैमा फौजी किराको प्रकोप छ,’ न्यौपानेले भनिन्, ‘यसका लागि उपाय खोजी गरिँदै छ ।’ गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रबाट विषादी उपलब्ध गराएको थियो । तर यसवर्ष औषधि नपाएको उनको गुनासो छ । यस्तै तिनाउ गाउँपालिका नयाँपाटीकी हरीकला पाण्डेले पनि फौजी किराले मकै खेतीमा सताएको बताइन् । ‘एक रातमै किराले सत्यानासै बनायो,’ उनले भनिन्, ‘यसको औषधिमूलोका लागि सहयोगको खोजीमा छु ।’ फौजी किराले मकैमा समस्या निम्त्याएको छ । किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ । जेठ १५ गतेदेखि पाल्पामा छिरेको फौजी किराले जिल्लाको तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला रिब्दीकोट लगायतका स्थानीय तहमा किसानले लगाएको मकैमा क्षति गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैमा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्रका कृषि प्रसारण अधिकृत सुरत पालले बताए । उनले बजेट अभावले अहिले प्रकोप नियन्त्रणका योजना बनाउन नसकिएको जनचेतनासँगको कुराकानीमा बताए ।

फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका साना मकैको गुभामा गई मकैको स्विइराहरु खाने र हुर्केका मकैको बोट किराले सखाप पारेको किसानले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको थियो । सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किट विज्ञ बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update