आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन विश्वभर छरिएर बसेका स्वयंसेवी रक्तदातालाई विशेष सम्मान तथा धन्यवाद आदानप्रदान गर्ने गरिन्छ । आफ्नो शरीरको रगत निःस्वार्थ, निःशुल्क दानस्वरूप प्रदान गर्दै आइरहेका स्वयंसेवी रक्तदाताहरूको उच्च मूल्यांकन गरी अन्तर्राष्ट्रिय उत्सवका रूपमा सन् २००४ देखि यो दिनलाई विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो । हाम्रो देशमा स्वयंसेवी रक्तदाताहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको अवस्था छ । यद्यपि सरकार र सम्बन्धित निकायबाट यथेष्ट व्यवस्थापनमा ध्यान केन्द्रित गरेको देखिंदैन । देशमा सदैव रगतको चरम अभाव देखिने गर्छ, जसको परिपूर्ति गर्न त्यति सहज पनि हुँदैन । पछिल्लो केही समययता सचेतनाको विस्तारसँगै रक्तदान गर्नेहरुको संख्यामा पनि थप वृद्धि भएको पाइएको छ, यद्यपि त्यसले देशमा रगतको मागलाई धान्न सक्ने अवस्था भने छैन । स्वयंसेवी रक्तदाताको संख्या क्रमिक वृद्धि भइरहेको यो समयमा यसको सदुपयोग सही तवरले गर्न सकेमा रगत र रक्ततत्वको आवश्यकतालाई केही हदसम्म सहज प्रकारले निवारण गर्न भने सकिन्छ ।
संसारको कुनै पनि देशमा रगत र रक्ततत्वहरूको आवश्यकतालाई पूरा गर्ने एउटै मात्र स्रोत स्वयंसेवी रक्तदाताहरू हुन् । यिनै स्वयंसेवी रक्तदाताको संख्यामा क्रमिक सुधार ल्याउन सकिएन भने यसको दीर्घकालीन असर रक्तसञ्चार क्षेत्रमा पर्न सक्छ । नेपालमा स्वयंसेवी रक्तदाताहरूको संख्य बढ्दै जानुलाई सकारात्मक मान्नुपर्छ । तर रक्तदाता बढ्दै गए पनि सरकार र सम्बन्धित निकायले भने यथेष्ट व्यवस्थापनमा ध्यान दिन सकेका छैनन् । यो अत्यन्त दुखको कुरा हो । जबसम्म स्वयंसेवी रक्तदाताको सही व्यवस्था हुँदैन, तबसम्म कुनै पनि देशका रक्तसञ्चार केन्द्रको औचित्य पुष्टि मात्र होइन दिवस मनाउनुले सार्थकता समेत प्राप्त गर्दैन ।