पाल्पा, जिल्लाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् ।
जिल्ला खोप समन्वय समितिका संयोजक खनाल, समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमकाबिच नगर प्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापालाई पालिका पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । पालिकाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरेपछि सिङ्गो नगरलाई नै पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगर भित्रका जन्मेदेखी १५ महिनासम्म र १६ महिनादेखी ५९ महिनासम्मका बालबालिकालाई खोप अभियान नै सञ्चालन गरेर नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई समेत खोप दिएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनालले रामपुर नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्दै उनले स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भए पनि बालबालिकाको भविष्यमा यसको महत्वपूर्ण प्रभाव रहने बताए । उनले भौतिक संरचनासँगै स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्न नगर सरकारलाई आग्रह गरे । प्रमुख खनालले पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोगको संक्रमण बढ्दै गएको भन्दै यसतर्फ सचेत हुने समय आएको समेत बताए । राज्यले खोपको लागि ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै खोपलाई सामान्य रुपमा नलिन पनि उनले सबैमा आग्रह गरे । नगर प्रमुख रमणबहादुर थापाले राष्ट्रिय खोप अभियान अन्तर्गत नै नगरका सबै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको बताए ।
उनले पूर्ण खोप अभियानले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको समेत बताए । दीर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरपालिकाले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख थापाको भनाई छ । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा उनले धन्यवाद ज्ञापन समेत गरे । पूर्ण खोप सुनिश्चिचताको लागि जिम्मेवारीको रुपमा लिएर निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई उनले अनुरोध पनि गरे । उपप्रमुख बालकुमारी थापाले सामाजिक विकास विना पूर्वाधार विकासले सार्थकता नपाउने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको धारणा व्यक्त गरिन् । खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघीयता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताए ।
जिल्लालाई औपचारिक रुपमा यस वर्ष घोषणा गर्न बाँकी रहे पनि रामपुरसँगै १० वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको उनको भनाई छ । नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले पूर्ण खोप पाउनु बालबालिकाको अधिकार भएकाले सुनिश्चितताका लागि सबै जना सहकार्य गर्दै लाग्नु पर्नेमा जोड दिए । नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ६ सय ८ र १६ महिना देखि ५९ महिना सम्ममा २ हजार १ सय ४० जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको बताए । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता,स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत, गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा कार्यक्रम भएको थियो ।