पाल्पा, नेपाली काँग्रेस तानसेन नगर समितिले जिल्लाको समसामयिक विषयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) को ध्यानाकर्षण गराएको छ । काँग्रेसले प्राकृतिक विपद्को पूर्व तयारी गर्नु पर्ने, सवारी साधानको तिव्र गति नियन्त्रण गर्नुपर्ने, सडक निर्माणको काम यथाशीघ सम्पन्न गर्न दवाब दिनुपर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने लगायतका विषयहरुमा सिडियोको ध्यानाकर्षण गराएको हो ।
नगर सभापति सुवर्णमुनि शाक्यको नेतृत्वमा गएको काँग्रेस नेताहरुको टोलीले आफुहरुले राखेका समसामयिक विषयका मागहरुलाई यथाशिघ्र सम्बोधन गरिदिन भन्दै प्रमुुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई ध्यानाकर्षण पत्र बुुझाएको छ । वर्षायाम सुरु भइसकेकाले विभिन्न क्षेत्रमा पहिरो नियन्त्रण गर्न, जनजीवनको रक्षाका लागि विपद् रोकथाम, न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत सामग्री यथाशीघ्र व्यवस्थापन गरिनुपर्ने, पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग सडकखण्ड र सहायक सडकमा दैनिक अनियमित रुपमा गुड्ने टिपर, मोटरसाइकलको गतिलाई न्यूनीकरण गरी टिपर र मोटरसाइकललाई निश्चित मापदण्ड बनाएर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाउनुपर्ने, पाल्पा बुटवल सिद्धार्थ राजमार्ग खण्डको केरावारी क्षेत्रमा एकतर्फी मात्रै सवारी साधन चल्ने भएकाले दुर्घटनाको सम्भावना बढ्दै गएकाले निर्माण कार्य गर्ने सम्बन्धित पक्षको ठेकेदारलाई अनुरोध वा निर्देशन दिनुपर्ने, यस क्षेत्रमा सडक निर्माणको काम यथाशीघ्र पूरा गराउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस्तै काँग्रेसले बुटवलदेखि रुरु क्षेत्रसम्मका राजमार्गमा पहिरोको जोखिमलाई ध्यानमा राखी जतिसक्दो चाँडो खाल्डाखुल्डी पुरी राजमार्गलाई सुरक्षित बनाउनुपर्ने, गाईघाटमा ह्युम पाइप बिच्छ्याउने व्यवस्था मिलाउनुपर्ने, तानसेन नगर क्षेत्रमा मोडिफाई गरी आवाज ठूलो बनाई तिव्र गतिमा सञ्चालनमा रहेका मोटरसाईकलबाट पैदल यात्रीहरु असुरक्षित तथा नगरवासीहरुमा ध्वनी प्रदुषणका कारण आजित भएकाले अविलम्व व्यवस्थापन गरिनुपर्ने लगायतका माग राख्दै सिडियोको ध्यानाकर्षण गराएको हो । नगर सभापति सुवर्णमुनि शाक्यले अहिले जिल्लामा देखिएका समसामयिक समस्या र हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको व्यवस्थापनमा ध्यान दिन प्रमुख जिल्ला अधिकारी काफ्लेलाई आग्रह गरे । प्रजिअ काफ्लेले विपद् व्यवस्थापनमा आफुहरुले तयारी थालेको र स्थानीय सरकारलाई पनि त्यसको तयारीमा जुट्न भनेको बताएका छन् । उनले काँग्रेसको जायज मागहरुलाई सम्बन्धित निकायसँग समन्वय गरी सम्बोधन गर्ने बताए ।