Shittalpati
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई काम कर्तव्य र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाले यहाँका १० वटा वडाका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको हो ।

वडा सदस्यहरुको काम कर्तव्य र अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, योजना, प्रशासनिक काम, लेखा सम्बन्धी व्यवस्था लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले जनप्रतिनिधीसँग जनताको अपेक्षा बढी हुने भन्दै हरेक जनप्रतिनिधी सबै जवाफदेही हुनु पर्ने भएकाले अभिमुखिकरण दिइएको बताए । 

नगर प्रमुख थापाले भने ‘जनताको हरेक समस्यासँग जनप्रतिनिधी जोडिए पनि कानुनी प्रक्रिया र व्यवस्था बारे जानकारी दिन नसक्दा जनप्रतिनिधी र जनताबिचको सम्बन्ध टाढा रहेको छ ।’ हरेक विषयको छिटो परिणाम खोजे पनि कानुनी बाधाका कारण जनताको समस्या सामाधान गर्न नसकिने उनले उल्लेख गरे । हरेक तहगत संरचनाका जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्न आफ्नो काम कर्तव्य र अधिकार बारे जानकार हुनु पर्ने बताए । उपप्रमुख बाल कुमारी थापाले जनताको आवश्यकता र आशा जनप्रतिनिधीसँग धेरै हुने भन्दै सबै विषयमा पूर्ण जानकार हुन आवश्यक रहेको बताईन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले दैनिक वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बारे जनप्रतिनिधीले सहजिकरण गरे थप सहज हुने बताए । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले जनप्रतिनिधिको दैनिक काम काजको प्रक्रिया बारे जानकारी दिई सजिलो बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा विभिन्न सिफारिस, अनुमति, लगायत सेवाको प्रक्रिया, स्थानीय सरकार सञ्चालन ऐन, जनप्रतिनिधीको काम कर्तव्य र अधिकार, वडा समितिको बैठक सञ्चालन, नगर सभाको सञ्चालन वार्षिक नीति तथा कार्यक्रम र बजेट, योजना, टोल विकास संस्था, विषयगत समितिको काम कर्तव्य र अधिकार, लेखा तथा भुक्तानी प्रक्रिया, विभिन्न संघ संस्था र व्यवसाय दर्ता, निर्णय प्रक्रिया लगायतका विषयमा सहजिकरण गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित, नगर प्रवक्ता कपिलबहादुर खाँण, प्रशासन अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत र लेखा शाखा प्रमुख सिता न्यौपानेले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update