Shittalpati
आज अन्तर्राष्ट्रिय बुवा दिवस

पाल्पा, अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।

यस दिन पिताको सम्मान गरी जन्यजनक भाव सम्बन्धलाई प्रगाढ बनाउने परम्परा रहेको छ । श्रुतिस्मृतिमा ‘आत्मा वै पुत्रः’ अर्थात् कुनै पनि सन्तान व्यक्तिको आफ्नो स्वरूपको रूपमा जन्मिएको हुन्छ भनिएको छ । तसर्थ यस दिन पिताकै स्वरूपमा जन्म लिएका हरेक सन्तानले पिताको सम्मान गर्ने वैदिक कालदेखि नै परम्परा विकसित भएको पाइन्छ । आजको दिनमा पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृ मुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् ।

परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।

जो बुवा आमा भन्दा टाढा छन् । जसले वर्षौसम्म पनि आमा बुवा भेट्न पाउँदैनन्, उनीहरुका लागि यो दिवस महत्वपूर्ण रहन्छ । तर वर्षमा एक दुई पटक बुवा आमाप्रति सद्भाव र माया दर्शाएर पुग्दैन । जन्म र कर्म दिने बुवा आमालाई वर्षमा एक/दुई दिन सम्झिएर हुँदैन । अझ अहिले त वर्षभरी वास्ता नगर्ने जब आमा, बुवाको मुख हेर्ने र दिवस आउँछन् तब सामाजिक सञ्जालका भित्ताहरूमा बुवा आमाका तस्वीरहरु सजाएर राख्ने प्रवृत्तिको विकास भएको छ जुन गलत हो । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै बुवाआमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो दुःखको कुरा हो । बुवा आमा–जननी, जन्मदाता र कर्मदाता हुन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update