Shittalpati
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता

विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्राकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । नेपालमा पछिल्लो समय मध्य पहाडमा खडेरीको मार बढेको छ । खडेरीकै कारण बसाई सर्नेहरुको समेत संख्या बढेको छ । यो अत्यन्त दुखको कुरा हो ।
दिवस मनाउनुको मूल ध्येय धर्तीमा भएका जीवित वनस्पति र प्राणी जगतको संरक्षणबाट मानव जगतका लागि बस्न योग्य र सुन्दर पृथ्वी बनाउने हो । तर सुक्खा खडेरीका कारण जमिन मरुभूमीकरण हुने खतरा बढ्दै गएको छ । मरुभूमीकरण तथा खडेरी भनेको वर्षात् नहुनु मात्र होइन जलवायु परिवर्तनको असर र मानव क्रियाकलापबाट जमिनको उर्वरा शक्तिमा ह्रास आउनु पनि हो । उत्पादनशील जमिन क्रमशः अनुत्पादक बन्दै जाने प्रक्रिया नै मरुभूमीकरणको अवस्था हो । 
उर्वर भूमिको जङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुक्खा खडेरीले आक्रान्त पारी उक्त भूमि बाँझोमा परिणत हुने कारण नै जमिन मरुभूमीकरण हुने अवस्था हो । जुन विश्वमा बढ्दो पारिस्थितिकीय–वातावरणीय समस्याका रूपमा देखापरेको छ । सुक्खा, खडेरी र मरुभूमीकरणका कारणले मानवतामाथि नै संकट उत्पन्न भएको अर्थमा बुझ्दा यसलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । भविष्यका लागि सीमित प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो । यसर्थ यसो गर्न सकियो भने मात्र विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाउनुुले सार्थकता प्राप्त गर्दछ ।
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update