जगन्नाथ पन्त
कुनै समय एका देशमा एक जना सन्यासी रहेछन् । अलि परको वनमा स्याउलाको कुटि बनाएर बस्दा रहेछन् । हप्ता सात दिन पछि जंगलमा गएका गोठालाहरुले उनलाई देखेछन् र गाउँले सबैलाई सुनाए छन् । केहि मानिसहरु भेट्न गएछन् । फलफूल खानेकुरा अर्पण गरे छन् । केहि दिनको अन्तरालमा उनलाई भेट्न जाने गरेछन् । एक दिन गाउँलेले सोधे छन् हजुरलाई कुनै तकलिफ भए भन्नु हामी सहयोग गरौंला । सन्यासीले भनेछन् , अरु त हजुरहरुको सहयोगले पुगिसरि छ, एउटा मुसाले मेरो लंगौटी काटेर दुख दिएको छ।
भएको एउटा लंगौटी मुसाले काटेर प्वाल पारि दियो । छोप्न गाह्रो भछ । भक्तले एउटा विरालो ल्याइदिए । मुसा सकिएपछि विरालोलाई खाना के दिने अर्को समस्या थपियो । गाउँलेले एउटा दुधालु गाई दिए । गाईलाई घाँस ,पानी ,कुडो , हेरचार गर्न समस्या भो । फेरी भत्तले हसिया , नाम्लो , गाग्री ,ताउला दिए । हेरचाह गरौं कि ध्यान गरु भनेपछि एकजना सहायकको व्यवस्था गरिदिए । सहायकलाई लत्ता कपडा अभाव भयो त्यो पनि दिएछन् । एकाध वर्षपछि सहायक र सन्यासीको प्रेम भएछ । सन्तान भएछन् , झल्यास भएर सन्यासी घर फर्केछन् । मुसाबाट लंगौटी जोगाउन नसक्दा फेरि गृहस्थी भएछन् । झन दुईवटा घरवार भयो , कलह थपिदै गयो । फेरी विरक्त भएर हिडेछन् । जोगि भएछन् । कति दिन भोकै भए । एकदिन हिड्दै गर्दा एउटा सुनसान ठाउँमा ईनार देखेछन् । यसो ईनारको पानी खाउ भनि हेरेको सिंह ईनारमा फसेको देखे । सिंहले विन्ति गरेछ हे सज्जन मलाई निकाल्नु हवस् । ए तिमी हिंस्रक जनावर तिमीलाई निकाले त मलाई तिमीले खाइहाल्छौ हुँदैन भनेछन् । म गुन विर्सने छैन् , हजुरलाई केहि हानी गर्दिन , बरु परेको बेला सहायता गरौला भनेर अनेक अनुनय विनय गरेछ सिंहले । दया जागेछ र एउटा बलियो लहरा खोजेर ईनारमा खसाली सिंहलाई निकाले छन् । सिंहले धन्यवाद दिदै म त्यो जंगलको बीचमा गुफा छ त्यही हुन्छु कुनै दुख परे आउनु म सहायता गर्ने छु भनेर खुसी हुँदै हिडेछ । सिंह निस्कना साथ एउटा बाँदर देखा परेछ । बाँदरले पनि निकाल्न अनुनय गरेछ । बाँदरलाई पनि निकाले छन् । बाँदरले धन्यवाद दिदै दुख परे संझनु भनेछ । त्यत्तिकैमा एउटा मानिस पनि मलाई पनि उद्धार गर्नुस् भनि विन्ति गरेछन् । बाँदरले जोगिलाई भनेछ, हुन त यिनी तपाईका सजातिय हुन , जनावरलाई त उद्धार गर्नु भयो मान्छेलाई नगर्ने हजुरलाई मन नहुने कुरै भएन । तर यो साह्रै वेमान छ । हामीलाई फसाउने यहि हो । यसले पछि हजुरलाई पनि फसाद पार्छ , ननिकाल्नु , म उ त्यो जंगलमा बस्छु दुख परे सम्झनु भन्दै ज्यान बचाइ दिएकोमा धन्यवाद दिएर हिडेछ । यता त्यो मानिस ईनार भित्रबाट अनुनय गर्न थाले । म सुन ज्वहारतको काम गर्ने कालिगढ हु , हजुरलाई दुख पर्दा सहयोग गर्नेछु , कृपागरी मलाई निकाल्नु होस् । दया लाग्यो मानिसलाई पनि निकाले , कालिगढले धन्यवाद दियो , आफ्नो पसलको ठेगाना दिएर आभार व्यक्त गरेर हिड्यो ।
समय व्यतित हुँदै गर्दा एक दिन जोगिले घर संझे , श्रीमतीहरु , छोराछोरीको यादले सतायो ।आफु वृद्ध , अशक्त भएकाले आफन्त खोज्यो मनले । फेरि यतिका वर्षपछि रित्तै जादा मलाई के माया गर्लान र भनि सोच मग्न भए । भगवान रामले त बाँदरको सहायता लिएका थिए म किन नलिने भनि बाँदर कहाँ गए । बाँदरले खुसी हुँदै स्वागत गर्यो । स्वादिष्ठ फलहरु रुखबाट ल्याएर खान दियो । जोगिलाई चिन्तित देखेर सोध्यो , तपाईको चिन्ताको समाधान सिंहले गर्लान कि भनि सिंहको गुफा सम्म लगिदियो र फर्क्यो । सिंहले खुसी हुँदै स्वागत सत्कार गर्यो । हिरा जडित सुनको ठुलो हार दियो सिंहले । राजकुमार शीकार खेल्न जाँदा बाटो विराइ एक्लै परेपछि सिंहसंगको लडाईमा मारिएका रहेछन् । उनको गलामा भएको हार सिहले गुफामा राखेको रहेछ । त्यहि हारको लोभमा कालिगढ भाग्दा भाग्दै , बाँदर रमिता हेर्दा र सिंह कालिगढलाई पकड्ने क्रममा ईनारमा खसेर फसेका रहेछन । सिंहबाट करोडौको हार पाएका जोगि , नगदमा परिणत गर्ने लोभमा कालिगढका पुगे छन् । त्यही कालिगढले राजकुमारको हार कुदेको थियो । केहि छिन वस्नु , यसलाई कति पर्छ मबजारमा बुझेर आउछु र हजुरलाई सकेसम्म्म बढी मूूल्य पारि दिन्छु भनेछ । जोगिलाई सत्कारका साथ भोजन , आराम गराउनु भनेर जहानलाई अह्राएर दरवारतर्फ लागेछ । राजालाई गएर हार देखाउँदै , यो हार वेच्न आएको मान्छेलाई मैले घरमा बन्धक बनाएकोछु , राजकुमारको हत्या गरि हार लुट्ने पक्कै उहि हुनु पर्छ भनेर चाकडी बजाए छ । राजाका आदेश मुताविक सैनिकले जोगिलाई पाता कसेर लगेछन् र राजाले जेलमा कोचेछन् । उता कालिगढ पुरस्कृत भए छ ।
एक पिडिंको पाखण्ड अर्को पिडिंको परम्परा बन्छ भनेकी थिइन हेलन केलरले । हाम्रो जस्ता देशमा सुशासन , विधिको शासनलाई निकै जोड दिइन्छ । तर कार्यान्वयनमा उल्टो परिणाम निस्कन्छ सधै । अरुलाई सुनाउँछन् , सुशासन भएन भनेर । मानौ कि खेत बारीमा काम गर्ने किसानले , भारी वोक्ने भरियाले , बटुवाले , किसानले विगारेर यो देश विग्रिएको हो ? दश वर्षमा देशको आर्थिक कायापलाट गर्छौ भनेका एशियाको नं एक गरिब हुनु गर्ब भयो । भन्ने एकथोक गर्ने अर्को थोकको पाखण्ड इनहेरिटेन्ट बनिरहेको छ । मानौ तिनका लंगौटी काट्ने सर्बसाधारण हुन । खाटि पुरानाका नयाँ हुन वा तिनै पुरानालाई सत्तो सरापेका नयाँ वा पुरानामा रहँदा गाथा गाएर नथाकेका एकाएक नयाँ बनेर आाशा जगाएका पनि उनै पुरानाका गोटी , बैशाखी , मतियार मात्र हुन कि भन्ने झलक देखिदै छ । पुरानका पाखण्ड नयाँका परम्परा बनिसके । पुरानाका गोटी बनेर सकिने हुन कि जस्तो छाटकाट छ । अरुलाई जे भनेर लोकप्रिय भए , सफल भए , अरुले त्यहि भन्दा, विगत कोट्याइ दिदा उठिबास , बनिबास गराउदै नसक्लान भन्न गाह्रो , साह्रो छ । बहरलाई दाउने पाको गोरुसंग नारेर हो,तर पाको गोरुले सियोमा नहिडेर राटो छोडेर मेलो विगार्न सिकाएको पत्तो पाएको छैन बहरले । हली रमिते बनेको छ । उचित,अनुचित खै के खै के । साना केटाकेटी भाडाकुटी खेल्छन् , एकछिनमा झगडा गर्छन् , एकापसमा गालीगलौज गर्दा हारेपछि, तलाई मेरो भोटे कुकुरले टोकाउछु , बाउलाई भनेर तलाई पिटाउछु , तेरी भैसी काली , तेरी गाई डल्ली, मेरो खुट्टा चप्पल छ, तेरो खुट्टा खाली, मेरो गोरुले तेरो गरुलाई जित्छ , तेरो भैसिले भन्दा मेरो भैसिले राम्रो पाडि पाछ भन्छन्, कट्टि भन्दै छुट्टिछन् ,अर्को दिन फेरि खेल खेल्छन् मिलेर । सभामा नि त्यही गर्दा रछन् , केटाकेटी झगडा गर्दा , अवेरसम्म खेल्दा बाउआमाले गर्छन् गाली , तर यिनले खान्छन् आफ्नाको ताली ,फरक यत्ति हो । वन पसेर लंगौटी जोगाउन नसकेका हुन वा फर्केर घरजम सम्हान नसकेर जोगि बनेका हुन कालिगढको जालमा परेका छन् । नयाँ फूर्तिफार्ति गर्ने पनि पुराना पिडिकै पदचापमा छन् ।
यथार्थ सोच र व्यवहार यथोचित मानिन्छ । विपत्ति सिर्र्जना गर्ने सोच र व्यवहार अनुचित मानिन्छ । सर्बोचित न थियो न छ नहुने छ । सज्जन मानिसका अनुकरणीय व्यवहार उचित र दुर्जन मानिसका कपटी व्यवहार अनुचित हुन्छन्। मानिसलाई सज्जन र दुर्जन बनाउने उसको व्यवहारले हो, रुपरंगले होइन । विधी, पद्दति नै अनुचित बनाउँछ दुर्जनले । आफु टिक्न कुरा, बोलि, विधी , निर्णय फेरि रहन्छ । शक्त्तिको दुरुपयोग गर्दा बहादुरी ठान्छ । आफुखुसी उपयोगी बनेर दुर्जनको कित्तामा उभिन्छ । यसो गर्छु , उसो गर्छु भनेर आस्वासन वा विस्वास लिने तर बोलेको वा लेखेको पुरा नगर्ने धोकेबाज । एउटा हातमा माला र अर्को हातमा भाला बोकेर बसेकाले कतिबेला कुन हात अगाडि सार्ने हो पत्यै हुँदैन । गलामा माला पर्न पनि सक्छ , छातीमा भाला रोपिन पनि सक्छ । जीवन कागजको खाली पाना हो । नलेखि सादा पन्नामा कुनै अर्थ भेटिदैन । सार्थक नबनाए जीवन व्यर्थ हुन्छ । जीवन बनिबनाऊ अर्थ होइन, खुला किताव हो । बुद्धले शान्ति र अहिंसाको मार्ग देखाए र भगवान् भए, हिटलरले अशान्ति र हिंसा फैलाए र इतिहास कलंकित बनाए । बुद्धले सर्बत्र उचित हुन सिकाए , हिटलर अनुचितका पर्याय बनेर गए ।
दशक पहिलेको हिन्दी चलचित्रमा स्कुलको एउटा विद्यार्थी दौडमा तेस्रो पुरस्कार जुत्ता देखेर दौडियो । उ जुत्ता किन्न नसकेर खालि खुट्टा स्कुल जान बाध्य थियो । तर दौडमा उ प्रथम भयो, पुरस्कार त ठुलो पायो तर जुत्ता पाएन । प्रथम भएकोमा धुरुधुरु रोयो । यस्तै छ आजकल । उचित छोडि अनुचितमा लाग्दा के के गर्छस् के –के ? उत्साही, पराक्रमी, आकर्षक, चमत्कारी बनाउछस् , शिखरमा पुर्याएर रहस्यमयी बनाउछस,अद्भुत व्यवहार सिकाएर गर्लम्म लडाउछस् । जवरजस्त गफाडी , उल्टासिधा , हो हल्ला , टेडोमेठो मोलजोल सिकाएर प्यारो बनाउछस् , अरुले त्यसै गरि दिदा भन भाउछस् , रिसाउछस्, असह्य वेदना दिन्छस् । फटाफट सिडि चढाउछस् , उपल्लो खुट्किलोबाट चिप्लाएर जमिनमा पछार्छस्। चलाख बनाउछस्, ध्रुत बनाउछस् , मुर्ख बनाउछस् , घमण्ड चढाउछस् , दोष सार्छस्, भगौडा बनाउछस् । मैत्रि संवाद , शालिनता, परोपकार, धैर्यता, उदारता, समझदारिता गायव गरी मिलिभगत, बलिको बकरा,चक्रव्यूहमा पार्छस् अनि अनीती, अत्याचारी बनाउछस् । अटल, अद्भुत, कुशल , शानदार मानदारलाई खाल्टामा खसाल्छस् र सक्छस् । यथा दृष्टि तथा सृष्टि । ब्राह्मणलाई वस्त्र भन्दा शास्त्र प्यारो, क्षेत्रियलाई वस्त्र भन्दा अस्त्र प्यारो , वैस्यलाई नाता भन्दा नाफा प्यारो । आफ्नै भन्दा गठवन्धन प्यारो, निरन्तरता भन्दा फेरवदल प्यारो , धेरै भन्दा थोरै भारी । गर्ने भन्दा बोल्ने प्यारो , अरु डाकु आफु साधु , बाजे भन्दा नाती जेठो , नाङ्गो नाचो सत्र दाऊ । हे अनुचित ! यथोचित वन ।
फलाम बलियो धातु हो । तर खियाको संगत गर्दा खियाले सकिन्छ । कवाडि बन्छ। सामाजिक सञ्जालमा भेटिने रेकर्ड सुन्दा फेरी कसरी मिलेका हुन, आरोप पत्यारोप कसरी विर्सेका हुन, कसम वाचा कसरी पचाएका हुन,अचम्म । अहिले रुपैयाँको भन्दा सुकिको मोल धेरै हुँदा दश पैसाको भ्यालु अप्रत्यसित रुपमा बढेको छ । एउटा सिक्का घरि त्रिशुल हुँ भन्छ घरि गाई हुँ भन्छ । बिहेको वेहुलाको जन्ति भन्दा गन्ति बढी । तरकारी जोख्दा तराजुमा माहुरी बसेर फरक नपरे जस्तो सोचेर हुन्छ र सुन जोख्दा तराजुमा माहुरी बसो भने लाखको फरक पर्छ । कवि शिरोमणीले त्यसै किन कोर्थे र हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिती , स्थानले मात्र के गर्नु भिन्नैछ गुणको गति। स्थान विशेष मान सानाले पनि पाउछ , कृष्णाका तटका ढुङ्गा देवता कहलाउँछ । पुरानो सबै त्याज्य हुँदैन , नयाँ सबै ग्राह्य हुँदैन । पुरानो जुत्ता सजिलो खुट्टा , तलुवा फाटे टालेर हुन्न । यथोचित हुन सिक यथोचित । आमा भन्दा छोरी जान्ने पाकेको भातमा पानी थप्ने ।खेतका मुला एउटै ड्याङका । अनिकालको तोरी सहकालको कोदो मिसाएर पिसो तेल न पिठो ।