Shittalpati
उच्च मूल्यबाट ६ सय घट्यो सुन

पाल्पा, उच्च मूल्यबाट सुनको भाउ सोमबार तोलामा ६ सय रुपैयाँ घटेको छ । निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाई रहेको सुन ६ सयले घटेको हो ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँ पुगेको थियो भने सोमबार १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।  

प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update